- सरस्वती न्यौपाने
धुन्चे, रसुवाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने गङ्गादशहरा मेला यस वर्ष शुक्रबारदेखि लाग्दै छ । एक सय आठ कुण्ड रहेको जिल्लामा गोसाइँकुण्ड सबैभन्दा ठूलो हो जसमा स्नान गरी पूजापाठ गरेमा सन्तान नहुनेलाई पुत्र वा पुत्री प्राप्त हुने र जोडी नहुनेको विवाह हुने विश्वास छ ।
०७२ मा ‘नेपालको संविधान’ जारी भएपछि राज्य पुनर्संरचना हुँदा जिल्लाको एउटा गाउँपालिकाको नामकरण गोसाइँकुण्ड गरिएको छ । अहिले गोसाइँकुण्ड– ५ मा पर्ने पर्यटकीयस्थल गोसाइँकुण्डमा जिन्दगीमा नसके एकपटक, सके तीनपटक पुग्नैपर्ने जनविश्वास रहेको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड करिब एक किलोमिटर लम्बाइ र आधा किलोमिटर चौडाइको निलो पानीको सरोवर हो । शिवकुण्ड पनि भनिने यस दहमा विशेष गरी शिवका भक्तले पुगी दर्शन र स्नान गर्ने लक्ष्य बनाएका हुन्छन् । गोसाइँकुण्डका थाप्लामा पार्वतीकुण्ड र पुछारमा भैरवकुण्ड रहेको छ । प्रकृति निर्मित कुण्ड यसलाई जति हेरे पनि अघाइँदैन । नौ वर्षयता १२ महिना नै मानिस आवतजावत गरिरहेको स्थानीय पत्रकार हेमनाथ खतिवडाले बताए । कोही हाइकिङ गर्न, कोही तामाङ संस्कृति हेर्न, कोही धार्मिक हिसाबले पुण्य प्राप्त गर्न, केही युवकयुवती जोडी र सन्तान प्राप्त होस् भन्ने कामना गर्न र कोही प्राकृतिक दृश्यावलोकन गर्दै सुख, शान्ति प्राप्तिका लागि पुग्ने गरेको उनले बताए ।
गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेकाले यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले थकाइको महसुस नहुने गोसाइँकुण्ड पुगेर फर्केका नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । सन् २००७ सेम्टेम्बरमा रामसार सूचीमा सूचीकृत गोसाइँकुण्डमा यही जेठ २५ देखि १० दिनसम्म गङ्गादशहरा मेला भर्न देश–विदेशबाट मानिसको विशेष भिड लाग्ने गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले बताए । समुद्र मन्थनबाट निस्किएको कालकूट विष खाएर सम्पूर्ण प्राणी जगत्लाई बचाएका शिवले विष घाँटीमा अड्किएपछि पानीका खोजीमा उत्तरापन्थ लाग्दा बेत्रावतीमा आइपुगेर बेतका लौराले पहरामा हानी पानी पिएको र त्यहाँबाट पनि डाह शान्त नभएकाले नीलाद्री पर्वतमा पुगी त्रिशूलले पहरामा हानेर पानी निकाली डाह शान्त गरेको पुराणमा वर्णित छ । शिवले रोपेको त्रिशूल धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भनाइ छ ।
धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी नेपालको दोस्रो ठूलो पदमार्ग गोसाइँकुण्डमा अध्ययन तथा अन्वेषणका लागि आउने गरेको गोसाइँकुण्डमार्ग चन्दनबारीका होटेल सञ्चालक सुब्बा लामाले बताए । आफूलाई बाघको डमरु भनी अङ्ग्रेजहरूलाई थरथर बनाउने नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै आएर गरेका थिए । उनी वास बसेका स्थानमा उनको सालिक बनाइएको छ ।तामाङ समुदायको बसोवास रहेको यस क्षेत्रमा सो समुदायको वेशभूषा, रहनसहन र संस्कृतिले पर्यटकलाई थप आकर्षित गरेको छ । गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्यसमेत प्रदर्शन गरिन्छ ।
गोसाइँकुण्ड कसरी पुग्ने
काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाइँकुण्ड जाने विद्यार्थी, शिक्षक र अन्वेषक सुन्दरीजल (एक हजार आठ सय ९५ मिटर)बाट यात्रा आरम्भ गर्छन् । हुन त धेरैजसो यात्री त्रिशूलीबाट जान्छन्, तर सुन्दरीजलको बाटो छोटो मानिन्छ । सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटाको चिप्लो बाटो पार गर्नुपर्छ, अनि आउँछ तामाङ बस्ती । मूलखर्क, गुराँस र दियार सल्लाका वनमा वैशाख–जेठमा गुराँससँग पिरती लगाउँदै उक्लिएपछि आइपुग्छ बोडलाङ भञ्ज्याङ । सो भञ्ज्याङ काटेर अझै उकालो लागेपछि पहिलो वास चिसापानी पुगिन्छ । पूर्वबाट आउने–जाने मुख्य मार्ग–पाटीभञ्ज्याङ हो । यहाँबाट ठाडै उकालो हिँडेपछि साँझ वास बस्न कुटुम्साङ पुगिन्छ । कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र साँझ ठाँडेपाटी पुगिन्छ ।
गोसाइँकुण्ड क्षेत्रको पहिलो कुण्ड ‘सूर्यकुण्ड’बाट केही तल झरेपछि आइपुग्छ ‘गोसाइँकुण्ड’ । सो कुण्डमा शिवको आकृतिको मूर्तिजस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यसभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम हो । गोसाइँकुण्डमा जनैपूर्णिमामा पनि मेला लाग्छ । गोसाइँकुण्ड स्नान गरेर तल झर्दै गर्दा भैरव÷नाग कुण्ड देखिन्छ । वैशाख–जेठमा चोल्याङ र तेन्जेडाँडाको काखैकाख हिँड्दा सेतो गुराँसका फूलहरू देखिन्छन् । काठमाडौंबाट माछापोखरी, बालाजु, कलङ्की, गल्छी, देवीघाट, बट्टार, त्रिशूली, बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै गोसाइँकुण्ड पुगिन्छ । यहाँ लाङटाङ राष्ट्रिय निकुञ्जको मज्जा पनि लिन सकिन्छ । धुन्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ । कात्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए बाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ । यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ । चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ । धुन्चेबाट गाडी र बेत्रावती तीरको पैदल यात्रा दुई विकल्प छन् ।