ॐ श्री परमात्मने नमः । : ॐ श्री गुरुभ्यो नमः। स्वास्थ्यम् सर्वदा योगेन ।।
दुःख पनि ईश्वरको उपहार हो । हामी भौतिक संसारमा अल्झिरहन्छौँ । दुःख संसार भनेकै मायाले बनेको छ अर्थात् यहाँ भ्रम, अज्ञान वा अन्धकार छ । त्रिगुणमयी माया त्रयताप वा दुःखले भरिएको छ । इन्द्रिय चेतनामार्फत संसारमा टाँसिनेहरू आशक्ति, तनाव, कष्ट, स्वार्थ, दुःखले घेरिन्छन् । जसरी माछा बल्छीमा फस्छ, किरा बत्तीमा फस्छ । अर्कोतर्फ ज्ञानी ध्यानीहरू संसारमा रहेर पनि संसारमा निर्लिप्त रही ईश्वरमा लीन भई सबै सांसारिक दुःख तनावबाट अलग रहन कमल हिलोमा अछुतो रहेजस्तै त्रयतापबाट निर्लिप्त रहन र निष्काम कर्म योग गरी आफ्नो स्वरूपमा फर्कन सक्छन् ।
सांसारिक विषयवस्तुमा हाम्रो सम्बन्ध नित्य रहन सक्दैन । यी वस्तुहरू जति प्राप्त भए पनि पूर्ण रूपमा स्थायी शान्ति प्राप्त हुँदैन । ईश्वरसँगको हाम्रो सम्बन्ध पहिला पनि थियो, आज पनि छ र पछिसम्म पनि रहिरहन्छ । यो नित्य सम्बन्ध हो । कहिले पनि विच्छेद हुँदैन । ईश्वर प्राप्त गरी मनुष्य पूर्ण रूपमा सुखी र आनन्दको अवस्थामा रहन सक्छ, अन्यथा सम्भव छैन । भगवद्गीतामा भगवान् श्री कृष्णले माया र उसको शक्तिबारेमा विशुद्ध रूपमा व्याख्या गरेका छन् । कृष्णका अनुसार माया ब्रह्मको एक शक्ति जसले संसार र जीवात्मालाई भ्रमित बनाउँछ ।
दैवी ह्येषा गुणमयी मम माया दुरत्यया । मामेवये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।। (भगवद्गीता ७.१४) अर्थात्, ‘मेरो माया गुणमयी (सातिवक, राजसिक र तामसिक) र अत्यन्त कठिन छ । यस मायाको प्रभाव केवल ती व्यक्तिहरूले पार गर्न सक्छ जसले मेरो शरणागति ग्रहण गर्छन् ।’ माया र यसको भ्रमबाट मुक्त हुने उपाय आत्मज्ञान र भक्ति हुन् । जब एक व्यक्ति आत्मा र ब्रह्मको वास्तविकता बुझ्न थाल्छ, तब माया उसका लागि एक पर्दा मात्र बनिरहन्छ र उसलाई शुद्ध ज्ञान र शान्तिको अनुभव हुन्छ । ध्यान, योग र साधनाले मायाको प्रभावलाई कम गर्न मद्दत गर्छ र मानिसलाई आत्मिक उन्नति र मोक्ष प्राप्तिको मार्गमा अघि बढाउँछ ।
मायाको शक्ति संसारको उत्पत्ति र अस्तित्वसँग जोडिएको एक अदृश्य शक्ति हो, जसले वास्तविकता र भ्रमको भेदलाई लुकाउँछ । माया अस्थायी र परिवर्तनशील संसारको उत्पत्ति गर्ने कारण हो र यसले मानिसलाई आत्मा र परमात्माबिचको असली सम्बन्ध देख्नबाट रोक्दछ । यसले संसारलाई भ्रमित रूपमा प्रस्तुत गर्छ र यसबाट मुक्तिका लागि आत्मज्ञान, ध्यान र भक्ति महत्त्वपूर्ण उपाय हुन् ।
पशु, मानिस र योग
आहारनिद्राभयमैथुनं च, सामान्यमेतत्पशुभिर्नराणाम् ।
धर्मो हि तेषामधिको विशेषो, धर्मेण हीना : पशुभि : समाना : ।। अर्थात् खानु, निदाउनु, डर हुनु, मैथुनादि कर्म यी सबै मानिस, पशु आदिमा समान हुन्छन् । मानिसमा विशेष थप गुण रहेको हुन्छ, त्यो विवेक धर्म हो । धर्मरहित मानिस पशुतुल्य हुन्छ अर्थात् धर्मबाहेक अरू सबै विशेषता सबै प्राणीमा रहेका हुन्छन् । त्यसैले मानवले धर्मको पालना गर्नुपर्दछ । धर्म भनेको सत्य कुरा धारण गर्नु हो ।
अन्य प्राणीमा विवेक भए पनि मेरुदण्ड तेर्सो भएकाले योग गर्न सक्दैनन् । जीवन जिउनका लागि खाना, डर मानी समूहमा रहने, आवश्यकताअनुसार निदाउने (सुत्ने), सन्तान जन्माउने यी चारवटा काम मानिस र पशुले पनि गर्ने हुनाले पशु र हामीमा केही फरक छैन । मानिसमा मात्र हुने गुण भनेको विवेक (धर्म) हो । यदि हामीले विवेकपूर्ण रूपमा काम गर्न सकेनौँ भने हामी पनि पशुकै दर्जामा पर्न जान्छौँ । संसारमा जन्म र मृत्युको जाँतोमा जीव पिसिइरहेका छन् । पशुको चेतना कम हुने भएकाले उनीहरू साधना मार्गमा आउन सक्दैनन् ।
मानिस सन्तान जन्माउने मेसिन मात्र होइन । खाने, सुत्ने, सन्तान जन्माउने, हुर्काउने यही पशु चेतनामै मानिस पनि रुमल्लिरहेका छन् । उच्च चेतनामा जानुपर्ने मानिस निम्न चेतनामै रहिरहेका छन् । म परमात्माबाट छुट्टिएर आएको हुँ र मलाई मायाले घेरिरहेको छ भन्ने बोध हुन हामीले अज्ञानलाई हटाउनुपर्छ । अज्ञान हटेपछि स्व स्फूर्त रूपमा दुःख पनि हटेर जान्छ ।
सर्वश्रेष्ठ विवेकशील प्राणी मानिसले मात्र योग गरी सुषुप्त शक्ति जागृत गराई महामानव बन्न सक्दछ । समाधिमा गई आविष्कार गर्न सक्छ । मानिसको जीवन प्राणी जगत्मा नै सर्वश्रेष्ठ मानिन्छ, किनकि ऊसँग बल, वृद्धि र विवेक सबैथोक हुन्छ, योगाभ्यासद्वारा मनुष्यभित्रका सुषुप्त शक्ति जाग्दछन् । यही कारणबाट उसले जीवनमा धेरै प्रगति एवम् धर्म, अर्थ, काम मोक्षको पालना गर्दै आत्मोन्नति गर्ने पुरुषार्थ गर्न सक्दछ, यी सबै पुरुषार्थ गर्न स्वस्थ शरीर चाहिन्छ, तर आफूभित्र रहेको अथाह ज्ञान एवम् शक्तिको सङ्केतसम्म थाहा नपाईकन मानवले आफ्नो जीवनलीला समाप्त गर्छ ।
दुःखबाट मुक्ति
जन्मँदादेखि नै मानिस तीन प्रकारको शरीर लिएर जन्मन्छ । स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । सूक्ष्म र कारण शरीर सूक्ष्म हुन्छ, अदृश्य हुन्छ ।
- संसार दुःखको सागर हो, शरीर नै सुख र दुःख भोग्न जन्मिएको, तर अभ्यास वैराग्यबाट तननिरोध हुन्छ । सारा संसार सुखको स्रोत होइन । त्यसमा आशक्ति गर्दा दुःख हुन्छ । अज्ञानमा संसारका भोग्य कुरालाई सुख मान्ने गर्दा दुःख भएको छ । सांसारिक कुरा क्षणभङ्गुर (अनित्य) हुन् । अज्ञानले हामीलाई भ्रममा राखेको छ र मोह बढेको छ । पाउने होडबाजीमा दुःख बढेको छ ।
- स्थूल शरीर – सूक्ष्म र कारण शरीरको अधीनमा हुन्छ । स्थूल शरीरको क्रिया – आनन्दमय कोषबाट अर्थात् भावनाबाट हुन्छ । यसको ज्ञानेन्द्रिय र कर्मेन्द्रिय हुन्छ ।
- अभ्यास गरे वैराग्य प्राप्त हुन्छ । वैराग्य भनेकै प्रति+आहार . प्रत्याहार हो । त्यो भएमा धारणा र ध्यान लाग्छ । ध्यान बलियो भए हाम्रा चेतना वा होस् बढ्दछ ।
- विचारका लहर सूचना मस्तिष्कमा जान्छ । विचारका लहर बढे विकार बढ्दछ । विचारमाथि नियन्त्रण हुन सके बाँदरजस्तो मन पनि शान्त अर्थात् मनमाथि विजय प्राप्त हुन्छ । अनि साधनाको गहिराइमा पुग्न वा परम् ऊर्जासँग एकाकारमा रहन सकिन्छ । अनि क्रमशः धैर्य, स्मृति र बुद्धि बढ्दछ । यो वृत्ति वा विचाररहित अवस्थाले मुक्ति मार्गतर्फ अगाडि बढाउँछ । भ्रम हट्दछ, भ्रमको अवस्थाबाट ज्ञानमार्गतर्पm बढाउँछ । होस् आफैँ खुल्दछ । वैराग्य बढ्दछ, संसारको आशक्ति घट्दछ । यो अवस्थामा पुग्न एक सेकेन्ड पनि खेर नफाली अभ्यास गर्नुपर्दछ । अनि मात्र मनलाई आत्मामा स्थिर गर्न सकिन्छ र विस्तारै प्रगति हुन्छ । नत्र बाटो हराएजस्तो वा अलमलमा परिन्छ । अहङ्कार, आशक्ति भ्रममै बाँचिन्छ । बुद्धि प्रयोग हुनुपर्दछ, शरीर उपयोग हुन्छ, दुरुपयोग होइन अनि मात्र अन्योलबाट (बाँदरजस्तो मन) शान्त र एकाग्र हुँदै निरुद्ध अवस्थामा पुग्न सक्दछ ।
- उन्नतिको मतलब पनि संसारका भोग्य विषयप्रति निर्लिप्त रही चित्तमा संसारको विकार क्लेश आउन नदिने र कैयन जन्मदेखिका चित्तमा रहेका विकारलाई साधना र निष्काम सेवाबाट डढाई ईश्वरमा एकाकार रहनु हो । (लेखक पातञ्जल योग समिति नेपालका प्रशिक्षण विभागका प्रमुख प्रशिक्षण हुनुहुन्छ ।)
विदुर–४ बट्टार, नुवाकोट






प्रतिक्रिया