काठमाडौंँ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ, बागमती प्रदेशको प्रथम तथा ऐतिहासिक अधिवेशन जेठ २१ गते सम्पन्न भएको छ । अधिवेशनले रसुवा जिल्लाका इन्जिनियर प्रकाश श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । पाटन क्याम्पस ललितपुरमा सम्पन्न अधिवेशनले १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा समन घिमिरे, उपाध्यक्षमा सुमन कट्टेल, सन्तोष सापकोटा र विकास
लामा, महासचिवमा साजन देउजा, सचिवमा विमल कार्की, सहसचिवमा माइकल प्रजा र कोषाध्यक्षमा अनिश बानियाँ चयन भएका छन् ।
सङ्घको निर्वाचित कार्यसमिति सदस्यमा राम दाहाल, सफल तामाङ, शङ्कर तिवारी, आरती लामा, विपीन कुइँकेल, रमेशकुमार कार्की, विनोद महर्जन, रिमा रसाइली, विभुशा बजगार्इँ र सञ्जीव भट्टराई छन् । केन्द्रीय सचिव दिनेश बजगाईँले समिति अब प्रादेशिक संरचनामा विस्तार भइसकेको छ र प्रत्येक जिल्लामा विस्तार गर्ने योजनासहित खेल मैदान निर्माणमा जुट्ने बताए । उनले भने, “ साहसिक खेल स्केटिङ तथा स्केट बोर्डिङ अन्तरराष्ट्रिय जगत्लाई समेत केन्द्रित गर्न सकिने भएकाले नेपालले यसमा अग्रसरता लिनुपर्छ ।’’ हालसम्म पाँच प्रदेश र ४४ जिल्लामा प्रादेशिक संरचना निर्माण भइसकेको बताइएको छ ।
नेपालमा यो खेल नयाँ भएकाले केही चुनौती भए पनि यसको आकर्षण र फाइदाका कारण यसको सम्भाव्यता र विकासमा लाग्नुपर्ने धारणा कार्यक्रमका सहभागीको थियो । आगामी दिनमा हरेक जिल्लामा स्केटिङ र स्केट बोर्डिङका लागि खेल मैदानको निर्माण गर्ने योजना रहेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका केन्द्रीय अध्यक्ष अच्युत खनालले बताए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गोसार्इँँकुण्ड क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रिय आइस स्केटिङ प्रतियोगिता आयोजना गर्ने आफ्नो रूचि र योजना रहेकाले सबैसँग सहयोगको अपेक्षा गरे । उनले भने, ‘‘गोसाइँँकुण्ड प्राकृतिक सुन्दरता र चिसो वातावरणले यस्तो प्रतियोगिता आयोजना गर्न उपयुक्त स्थान हो । यसले पर्यटन प्रवद्र्धनमा पनि योगदान पु¥याउने छ । बागमती प्रदेश सरकारको लक्ष्य नै ‘एक पालिका एक स्केटपार्क’ बनाउने रहेको छ । त्यसका लागि प्रदेश खेलकुद मन्त्रालय, सम्बन्धित पालिका, वडा र व्यक्तिको महत्त्वपूर्ण सहयोगको अपेक्षा राखेका छौंँ । सङ्घको कार्यालय भक्तपुरमा हुने छ ।”
नेपालमा स्केटिङ र स्केट बोर्डिङ खेलको भविष्यलाई उज्ज्वल रहेको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्तरराष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको उत्पादन गर्ने लक्ष्य राखिएको बताए । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा सदस्य धनकुमार मैनालीको पनि उपस्थिति थियो ।