एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

  • त्रिशूली प्रवाह
  • २८ जेष्ठ २०८१, सोमबार १६:४२

विदुर, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । एमालेका नेता दुई समूहमा विभाजित भएर निर्वाचन लडेका थिए । निर्वाचनमा वर्तमान अध्यक्ष बद्री मैनाली र उपाध्यक्ष बुद्धिबहादुर प्रधानको समूहलाई विजय गराउन केन्द्रदेखि जिल्ला तहका नेता÷कार्यकर्ता विभाजित भएका थिए ।

नुवाकोट जिल्लामै पहिलो पटक रामलक्ष्मण विद्युतीय भोटिङ मेशिनबाट मतदान भएको छ । पहिलो पटक जिल्लामा एमालेले भोटिङ मेशिनबाट मतदान गराएको हो । मतदानमा ३ सय ४५ मत प्राप्त गरी मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी बुद्धिबहादुर प्रधानले २ सय ३७ मत र अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मोहनबहादुर खड्काले जानकारी दिनुभयो । अधिवेशन प्रतिनिधी ६ सय १२ रहेपनि मतदानमा ५ सय ९२ मात्र सहभागी भएका थिए । निर्वाचनबाट उपाध्यक्षमा राजेन्द्ररमण खनालले ३ सय ४७ मत प्राप्त गरे । निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुदर्शन नेपालले २ सय ३५ मत प्राप्त गरेका थिए । सचिवमा शिवकुमार चित्रकारले ३ सय ६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धामा रहेका निलकण्ठ आचार्यले २ सय ८६ मत प्राप्त गरी प्रत्यासी रहे । त्यसैगरी, उपसचिव खुल्लामा राजेन्द्रप्रकाश पाण्डे र उपसचिव महिलामा रूपा सापकोटा निर्वाचित भएका छन् । राजेन्द्रले ३ सय ३७ र रूपाले २ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपाध्यक्षका प्रत्यासी विरवल तामाङले २ सय ५५, मंगलमाया प्रजापतिले २ सय र पार्वती प्याकुरेलले १ सय ६ मत प्राप्त गरेका छन् । पाँच जनाको पदाधिकारीमा सबै र अधिकांश जिल्ला सदस्य पनि मैनालीको समूहका विजयी भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी भएका छन् भने कुल २८ जना सर्वसम्मत निर्वाचित भएको निर्वाचन प्रमुख खड्काले बताउनु भयो । निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार नै निर्वाचन अधिकृतले पार्टीको विधानअनुसार सपथग्रहण गराउनुभएको थियो ।