विपत् नमुना उद्धार र राहत अभ्यास

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:०९
  • सुनील श्रेष्ठ

बाँडेचौर, जिल्ला विपत् व्यवस्थापन समिति नुवाकोटको योजनाअनुसार शेर गण देवीघाटको संयोजनमा जिल्लामा रहेका सुरक्षा निकायका सुरक्षाकर्मीले संयुक्त रूपमा आइतबार विपत् नमुना उद्धार र राहतको कृत्रिम अभ्यास तथा प्रदर्शन गरेका छन् ।

विपत्को समयमा उद्धार र राहत प्रक्रियालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीले कृत्रिम अभ्यास गरेका हुन् । विदुर नगरपालिका– ५ बाँडेचौरमा सुरक्षाकर्मीले विपत् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास तथा प्रदर्शन गरेका छन् । मनसुन नजिकिँदै जाँदा नेपाली सेनाको शेर गणले बाँडेचौरमा विपत्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीयमाझ प्रस्तुत गरेको थियो । विपत्को घटनामा सबै पक्षबाट सामूहिक रूपमा पूर्वतयारीमा जुट्न र विपत्मा त्यसको सामनाको लागि एकताबद्ध हुन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले अपिल गरेका छन् । पहिरो र उद्धारपछिको राहत अभ्यासबाट जिल्लामा क्रियाशील निकायको तयारीको अवस्था, उपलब्ध स्रोत–साधनको अवस्था, समन्वयको अवस्थाबारे पहिचान भई कमजोर देखिएका विषयमा सुधार गर्नका लागि सिकाइ भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । विपत्को समयमा उद्धार, राहत, सहजीकरणलगायतका क्रियाकलापको व्यावहारिक नमुना अभ्यास पनि गरिएको गणका प्रमुख सेनानी विष्णु कार्कीले बताए । विपत्को समयमा गर्नुपर्ने उद्धार, राहत, उपचारलगायतका क्रियाकलापको व्यावहारिक अभ्यास गरी समन्वय तथा सहजीकरणलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको उनले बताए ।

विपत् व्यवस्थापनमा संलग्न हुने निकायलाई क्रियाशील बनाई तयारी अवस्थामा राख्ने उद्देश्यसहितको अभ्यासमा जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले प्रदर्शन देखाएका थिए । सैनिकले मनसुनको कारण हुने पहिरोको उद्धार, राहत तथा उपचार व्यवस्थापनको समन्वय तथा सहजीकरणको प्रदर्शन प्रस्तुत गरेका थिए । नेपाली सेना, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म आधार क्याम्प र नेपाल रेडक्रस सोसाइटी नुवाकोटसँग भएको उद्धार सामग्रीको सो अवसरमा प्रदर्शन गरिएको थियो । शेर गण बर्दिया राष्ट्रिय निकुञ्जबाट गत महिना नुवाकोट सरुवा भएको थियो । नुवाकोटको सुरक्षार्थ तैनाथ जब्बरजंग गण बर्दिया राष्ट्रिय निकुञ्जमा सरुवा भएको हो ।