अप्रभावकारी ‘नागरिक बडापत्र’

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:२१

विदुर, नुवाकोटका सरकारी, सार्वजनिक एवम् स्थानीय तहका कार्यालयमा ‘नागरिक बडापत्र’ राखिए पनि त्यसमा उल्लिखित सेवा लिन सेवाग्राहीलाई सास्ती परेको छ । कार्यालयमा देखाउनका लागि मात्र बडापत्र रहेकाले सेवाग्राहीले पाउने सेवा उपभोग गर्न असहज भइरहेको छ ।

जिल्लाका सबै कार्यालयले परिसरमा नागरिक बडापत्र राखे पनि कति कार्यालयको बडापत्रको ‘फ्लेक्स’मा राखिएको ब्यानर खुइलिएको र च्यातिएको छ । त्यसप्रति कार्यालयको ध्यान गएको देखिँदैन । सेवा प्रापकले पायो कि पाएन त्यसबारेमा कार्यालयले ध्यान दिएको छैन । अधिकांश कार्यालयको हालत उस्तै देखिन्छ । यसबारे न कार्यालयलाई त्यसप्रति चासो छ न त सेवा प्रापकलाई नै । जिल्ला प्रशासन कार्यालयले करिब २० फिट लम्बाइ र १० फिटको उचाइमा तयार गरेको बडापत्र स–साना अक्षरमा लेखिएकाले सेवा प्रापकले पढ्न र बुझ्न कठिन परेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीले बताए । ‘जिल्लाभरिका सरकारी कार्यालयको त यो अवस्था छ, अरूको के होला,’ उनले भने, ‘यो त एउटा नमुना मात्र हो ।’ प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकृष्ण अधिकारीले बडापत्रअनुसार सेवा दिइरहेको बताए । उनले दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा ढिलो भएको स्वीकार गरे । जिल्ला समन्वय समितिमा राखिएको बडापत्र भने उस्तै छ । स्थानीय तहका कार्यपालिका र वडा कार्यालयले राखेका बडापत्र पनि त्यति प्रभावकारी देखिँदैन । यसमा न सेवाग्राही न सेवा प्रदायकलाई नै चासो छ । सानो अक्षर र टाढाबाट हेर्दा झनै असहज छ बडापत्र । सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने प्रत्येक सरकारी कार्यालयले आफ्ना परिसरभित्र सबैले देख्ने र उपयुक्त ठाउँमा सिटिजन चार्टर (नागरिक बडापत्र) राख्नुपर्ने सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ मा व्यवस्था छ । आधुनिक विधि र प्रविधिको प्रयोग गरी सरकारी कामलाई स्वचालित बनाउन तथा प्रभावकारी कार्यान्वयन भए–नभएको अनुगमन–मूल्याङ्कन गरी दण्ड–पुरस्कारको उचित व्यवस्था गर्न जरुरी देखिन्छ । जिल्लाको सबै कार्यालयलाई निर्देशन तथा कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय बडापत्रअनुसार सेवा दिएको–नदिएकोबारे अनुगमन र निगरानी गर्न कर्मचारीको अभावले सकिरहेको छैन ।