त्रिशूलीबजार, सामाजिक उत्तरदायित्व बहन गर्दै नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीको त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा अध्ययनरत पाँचजना विद्यार्थीलाई तीनवटा सहकारीले शुक्रबार छात्रवृत्ति बाँडेका छन् ।
जिल्लाकै दोस्रो क्याम्पस त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गरिएको थियो । कलेजका अध्यक्ष नारायण श्रेष्ठको सभापतित्वमा भएको छात्रवृत्ति विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा नगरप्रमुख श्रेष्ठले कलेजको शैक्षिकस्तर र भौतिक पूर्वाधारका लागि चालू आर्थिक वर्षमा फर्निचर र ल्यापटप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । त्रिकास बचत तथा ऋण सहकारी (साकोस) सोह्रखुट्टे, काठमाडौं, साँघु बहुउद्देश्यीय सहकारी संस्था त्रिशूली र माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढुङ्गेले छात्रवृत्ति रकम प्रायोजन गरेका थिए । विद्यार्थीलाई छात्रवृत्तिको जनही पाँच–पाँच हजार रुपैयाँ र शैक्षिक सामग्री प्रदान गरिएको कलेजका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा त्रिकासका अध्यक्ष अनिलकुमार श्रेष्ठ, साँघुका अध्यक्ष कुमारमान मलेकु र माता मनकामना सहकारीका अध्यक्ष नवीनकृष्ण राजभण्डारी उपस्थित भई उक्त रकम विद्यार्थीलाई प्रदान गरेका थिए । छात्रवृत्ति प्राप्त गर्नेमा सजना खाती, उर्मिला मिजार, अमिशा तामाङ, पार्वती थापामगर र शान्ति मिजार रहेका छन् । यसअघि पनि संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई–दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको कलेजकी प्रिन्सिपल रिता पछाईले जानकारी दिइन् ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले कलेजको वर्तमान अवस्था, समस्या, चुनौती र सम्भावनाबारे जानकारी गराएका थिए । कलेजलाई हाल अमेरिकामा रहेका डा. दीपेन्द्र दाहालले ४० हजारबराबरको सामग्री खरिदका लागि आर्थिक सहयोग गरेकोसमेत उनले जानकारी गराए । ०६० मा त्रिभुवन त्रिशूली माविको सहयोगमा स्थापना भएको कलेजमा हाल तीन सय ५० जना विद्यार्थी शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा अध्ययनरत छन् । कलेजमा व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ भइरहेको छ ।