आधारभूत मौरीपालन तालिम सुरु

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:२९

लाँकुरीभञ्ज्याङ, बागमती प्रदेश सरकार र पञ्चकन्या गाउँपालिकाको साझेदारीमा जेठ २२ देखि आधारभूत मौरीपालन तालिम सञ्चालन भइरहेको छ ।

पालिका भवनमा असार ५ गतेसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन गाउँपालिका उपप्रमुख विमला केसीले गरेकी थिइन् । १५ दिने तालिममा स्थानीय २६ जना महिला सहभागीलाई नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखा अध्यक्ष, आधुनिक मौरी फार्म तथा घार उद्योगका प्रोपाइटर भीमप्रसाद अधिकारीले प्रशिक्षण दिइरहेका छन् । तालिम सहजकर्तासमेत रहेका नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखा अध्यक्ष अधिकारीले १५ दिने तालिमले मौरीपालनसँग सम्बन्धित धेरै कुराको जानकारी हुने र परम्परागत रूपमा पालिएको मौरीपालनबाट भन्दा आधुनिक तरिकाले मौरीपालन गर्दा बढी लाभ उठाउन सकिने बताए । यस भेगमा आधुनिक मौरीपालन सुरुवात गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख केसीले बताए । पञ्चकन्या वातावरणीय हिसाबले मौरीपालन व्यवसाय गर्न योग्य ठाउँ भएकाले सहभागीलाई व्यवसाय गर्न र यसका लागि आवश्यक प्राविधिक सहयोगको साथै मौरीजन्य सामग्रीका लागि सदैव सहयोग गर्न तयार रहेको कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख केसीले बताइन् । गाउँपालिका सधैँ किसानको हितमा काम गर्ने र यस व्यवसाय सञ्चालन गर्ने महिलालाई आवश्यक सहयोग गर्न पालिका तयार रहेको प्रतिबद्धतासमेत गरिन् ।