श्रीनाथ गणको अगुवाइमा

मनसुन–४ विपत् प्रतिकार्य प्रदर्शन

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:४१

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्ज तथा रसुवा जिल्लाको सुरक्षामा तैनाथ नेपाली सेना श्रीनाथ गणको अगुवाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मिनी गोसाइँकण्डमा जेठ २५ गते मनसुन–४ विपत् प्रतिकार्य प्रदर्शन सम्पन्न भएको छ ।

मनसुनको समयमा जिल्लाको विभिन्न स्थानमा भारी वर्षाबाट बाढी, डुबान एवम् पहिरो तथा राहत कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न नेपाली सेना श्रीनाथ गणको अगुवाइमा मनसुन– ४ विपत् प्रतिकार्य प्रदर्शन भएको हो । उक्त प्रदर्शनीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले समेत प्रदर्शन गरेको थियो । भिरको बाटो हुँदै गाडी हिँडिरहेको हुन्छ, अचानक गाडी खस्छ, भिरबाट एकदमै खोँचमा तत्कालै उद्धार गर्न पनि नसकिने ठाउँमा र उक्त ठाउँमा मानिस कोही भिरमा अड्केको, कोही फेदमा पुगे, कोही खोलामा परे, उनीहरूको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा डोरीको सहायताले गरिने उद्धार र हाइलाइन डोरीको माध्यमबाट खोँचमा फसेका घाइते व्यक्तिलाई उद्धार गरी प्राथमिक उपचार गरी अस्पतालसम्म पु¥याउनेसमेतको अभ्यास गरी देखाइएको थियो । सो अवसरमा विभिन्न उद्धारका सामग्रीको समेत प्रदर्शन गरिएको थियो । अभ्यासलाई दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा रसुवा मावि र हाइल्यान्ड आवासीय विद्यालयका विद्यार्थीलाई जानकारीमूलक कक्षा सञ्चालन गर्दै चट्याङ, आगलागी, भूकम्पको समयमा गर्नुपर्ने कार्यका साथै विभिन्न विपत्को अवस्थामा डोरीको प्रयोग गर्ने तरिकाको अभ्यासबारे जानकारी गराइएको थियो । दोस्रो भागमा विपत्को अवस्थामा डोरीको सहायताले गरिने उद्धार र हाइलाइन डोरीको माध्यमबाट खोँचमा फसेका व्यक्तिलाई गरिने उद्धार तथा सुरक्षा फौजसँग भएका विपत् प्रतिकार्यमा प्रयोग गरिने विभिन्न सामग्रीको प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी स्थलमा प्रमुख जिल्ला अधिकारी एवम् विपत् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनाल, गोसाइँकुण्ड गाउँपालिकाका प्रतिनिधि, श्रीनाथ गणका निमित्त गणपति, लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक केशव भट्टराई, सशस्त्र प्रहरी नम्बर २० गुल्मका गुल्मपति सुमन थापा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुप्साङ तामाङ, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।