शुक्रान्धका कारण गोसाइँकुण्ड पुग्ने तीर्थयात्री कम

  • त्रिशूली प्रवाह
  • ७ असार २०८१, बिहीबार १२:०५
  • सरस्वती न्यौपाने

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने रसुवा जिल्लाको प्रमुख धार्मिक स्थल गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशहरा मेला सम्पन्न भएको छ । शुक्रान्ध परेकाले यस वर्ष धार्मिक कार्य नहुने भएकाले तीर्थयात्री घटेका हुन् ।

गत जेठ २५ गते प्रतिपदादेखि असार २ गते दशमीसम्म लागेको दशहरा मेला भर्न नेपालभरबाट यस वर्ष लगभग एक हजार सात सय तीर्थयात्रु गोसाइँकुण्ड पुगेको तथ्याङ्क निकुञ्जले सार्वजनिक गरेको छ । शुक्रान्ध परेकाले यसपटकको मेलामा धेरै कम भक्तजन आएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले बताए । यसपटक भाकल गर्दा नलाग्ने र तीर्थ गर्दा धार्मिक पुण्य नहुने भएका कारण खासै मानिस नआएको जनाइएको छ । बर्सेनि गङ्गादशहरा मेला भर्न देश–विदेशबाट दशौँ हजार मानिसको भिड लाग्ने गथ्र्याे । यसपालि शुक्रान्धका प्रभावले मानिस त्यति नआएको र बाह्रै महिना मानिसको आवतजावत हुने भएर पनि कम मानिस आएको हुन सक्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । यस्तै, निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी मिलन सापकोटाका अनुसार निकुञ्ज हुँदै चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड जाने तीर्थालुमध्ये जेठ २३ देखि असार २ गतेसम्म महिला नौ सय र पुरुष आठ सय थिए ।

देवता र दानव मिली समुद्रमन्थन गर्दा निस्केको हलाहल विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ शिवले निल्दा घाँटीमा अड्केको, विषको डाहा शान्त पार्न नेपालका विभिन्न स्थल हुँदै उत्तरापन्थ लागेको र पहिले अहिलेको बेत्रावतीमा बेतका लौराले चट्टानमा हानी पानी निकालेको र त्यसबाट पनि तृप्त नभएपछि अझै अगाडि बढी त्रिशूलले नीलाद्री पर्वतमा खोपी पानी निकाल्दा नीलखेतमा दह बनी आफू त्यसैमा शयन गरी बसेको भन्ने कथन छ । गङ्गादशहरा र जनैपूर्णिमामा गोसाइँकुण्डको स्नान गर्दा सबै प्रकारको पापबाट मुक्त पाउने जनविश्वास रहेको छ । ज्येष्ठ शुक्लपक्ष प्रतिपदाबाट सुरु भएको यस वर्षको पर्व दशमी अथवा दश दिन असार २ गतेसम्म चलेको थियो । स्कन्दपुराणका अनुसार गङ्गादशहरा र जनैपूर्णिमामा गोसाइँकुण्डमा सबै देवी–देवता जमघट हुने भएकोले सबैको दर्शन पाइन्छ ।