
तुप्चे, विदुर नगरपालिका-७ तुप्चे, पत्तीचौतारास्थित सुन्दरादेवी आधारभूत विद्यालयका ७५ विद्यार्थीलाई समाजसेवी नवराज ढुङ्गानाले गत बिहीबार पोसाक उपलब्ध गराएका छन् ।
समाजसेवी ढुङ्गानाले आफ्नो व्यक्तिगत खर्चमा विद्यार्थीलाई हौसला बढाउने तथा सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने उद्देश्यले ट्र्याकसुट खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरिएको बताए । ट्र्याकसुट सेट विदुर नगरपालिका–७ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता रवीन्द्र्र नेपालको प्रमुख आतिथ्य र नेकपा (एमाले)का केन्द्रीय सदस्य विन्दा ढुङ्गानाको विशेष आतिथ्यमा वितरण गरिएको प्रधानाध्यापक अजय बोगटीले जानकारी दिए । अधिकांश दलित बालबालिका अध्ययनरत उक्त विद्यालयमा ट्र्याकसुट वितरणले पोसाकको सरसफाइ र विद्यार्थीको नियमित उपस्थितिमा सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति तामाङले बताइन् । पोसाक वितरणले विद्यार्थी र अभिभावक खुसी भएको स्थानीय समाजसेवी एवम् विद्यालयका संस्थापक तथा पूर्वव्यवस्थापन समितिका अध्यक्ष झङ्कनाथ अधिकारीले बताए । विदुरमा व्यवसायसमेत गरिरहेका ढुङ्गानाले यसअघि पनि विदुर नगरपालिका–१३ स्थित बागेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई एक सय ३४ जोर ट्र्याकसुट प्रदान गरेका थिए ।
स्रोत र साधनको कारणले आफूले पनि विद्यालय पढ्ने उमेरमा अभाव भोगेको जनाउँदै दाता ढुङ्गानाले दलित तथा विपन्न विद्यार्थीको शैक्षिक उन्नतिका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्ष तथा पत्रकार शरण उत्सुक सापकोटाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको पढाइ राम्रो बनाउन शिक्षासेवी तथा नागरिक समाजले पनि योगदान दिनुपर्ने बताए ।