
काठमाडौं, निर्वाचन आयोगको आयुक्तमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका तारुका, चन्दनीका कानुनविज्ञ कृष्णमान प्रधान सिफारिस भएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्कोे बैठकले उनलाई आयुक्तमा सिफारिस गरेको परिषद्का सदस्य एवम् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताए । संसदीय समितिको सुनुवाइबाट अनुमोदन भएपछि नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानले पद तथा गोपनीयताको शपथ लिनेछन् । उनी सो समाजमा ०३८ देखि कार्यरत छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको परिषद्मा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख इन्दिरा राना सदस्य छन् ।