
ठूलोभार्खु (रसुवा), गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर-५ ठूलोभार्खुमा रहेको भिमसेन आधारभुत विद्यालय पालिकाभित्रको १५ वटा विद्यालयमध्येको उत्कृष्ट विद्यालय बनेको छ । उक्त विद्यालयले निजी (बोर्डिङ) स्कुलसँग प्रतिस्पर्धा गरिरहेको छ । उक्त विद्यालयमा बोर्डिङमा पढिरहेका विद्यार्थी ल्याउन अभिभावक मरिहत्ते गर्छन् ।
भिमसेनका प्रधानअध्यापक रोशन बास्कोटाका अनुसार २०२३ सालमा स्थापना भएको विद्यालयमा हाल ९० जना विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा ८ सम्म पढाई हुने विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान ल्यावलगायत ईसिडीदेखि १ सम्म प्रविधिमैत्री कक्षा सञ्चालन भईरहेको छ । स्वच्छ शैक्षिक वातावरणमा बालबालिकालाई खेलकुदको सामाग्रीसहित पक्की भवनमा अनुभवि शिक्षक/शिक्षिकाद्वारा पढाई हुने यो विद्यालयमा २०८० सालमा गोसाइँकुण्ड गाउँपालिका खेलकुद शाखाको कार्य मूल्याङ्कन गर्दा १५ विद्यालयमध्ये उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोल्मा याङजेन तामाङकानुसार अङ्ग्रेजी माध्यमबाट पढाई हुने यस विद्यालयमा नर्स १ जना, कार्यालय सहयोगी १ जना र शिक्षक/शिक्षिका १३ जना रहेका छन् ।