विदुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले स्थापना दिवस शुक्रबार यहाँ चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेर मनाएको छ ।
राजनीतिक साथै विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, डा. प्रद्युम्न महतलगायतको उपस्थिति थियो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति राजु थापा, नेकपा (एमाले)का जिल्ला सचिव शिवकुमार चित्रकार, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष पुष्प लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुलबहादुर खड्गी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति हरि श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।
पार्टी स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा कृषि जागरण, सरसफाइ, रक्तदान, चियापान, दीप प्रज्ज्वलन, ७७ पटक घन्ट बजाउने कार्यक्रम गर्दै उत्सव साताव्यापी मनाइएको जिल्ला सभापति रामेश्वर गजुरेलले बताए । ०७९ असार ६ गते स्थापित रास्वपाको नुवाकोटमा एक हजार सात सय प्रमाणित सदस्य रहेको जनाइएको छ । नेपाल रेडक्रसको प्राविधिक सहयोगमा असार ५ गते बट्टारको हावाघरमा भएको रक्तदान कार्यक्रममा ३७ पुरुष र तीन महिलाले रक्तदान गरेका थिए । पुराना दलबाट देश नबन्ने निष्कर्ष सुनाएर ०७९ मंसिरको सङ्घीय निर्वाचनमा उम्मेदवार दिएको रास्वपाले अप्रत्याशित मत र सिट पाएको थियो । २१ स्थानसहित प्रतिनिधिसभाको चौथो ठूलो दल बनेपछि रास्वपाले पुरानै दलको सिको गर्दै सत्तामा जाने र कुनै हालतमा नछाड्ने रणनीति बनाएको छ । नुवाकोट सङ्घीय क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेर दोस्रो भएको रास्वपाका नेता सुमनविक्रम पाँडेले सरकारमा गएर पार्टीले जनताको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक काम गरिरहेको जिकिर गरे ।