
ढुङ्गे, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीका तीन सय ४० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) शनिबार वितरण गरिएको छ । सर्वसाधारणको भान्सा प्रदूषणरहित र धुवाँरहित वडा निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको हो ।
विदुर नगरपालिकाका-१ को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उपमेयर प्रभा बोगटीले विद्युतीय चुलो वितरण गरेकी हुन् । विदुर नगरपालिका-१ को कार्यालयले आफ्नो वडा धुवाँरहित बनाउन तथा ग्यासको प्रतिस्थापन गर्नका लागि विद्युतीय चुलोको प्रयोग गराउन अभियान नै सुरु गरेको छ । वडाकै अग्रसरतामा वडावासीका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीय नागरिकले ३० प्रतिशत व्यहोर्ने गरी वडा कार्यालयले विद्युतीय चुलो प्रयोग अभियानकै रूपमा पहिलोपल्ट सुरु गरिएको वडाध्यक्ष लेनिन रञ्जितले बताए ।