
- डा.राजु अधिकारी
युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।
अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।
हठयोग प्रदीपिका । (अर्थात् युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्छ ।) हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजका युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । तथापि आफ्नो व्यस्त दिनचर्याबाट अलिकति समय निकालेर योग–योगाभ्यास ग¥यौँ भने आरोग्य सिद्धि प्राप्त गर्न निश्चित रूपले मद्दत पुग्छ ।
व्यस्त हुनु आजको मानिसको बाध्यता हो जसभित्र लुकेको विडम्बना चाहिँ के हो भने ऊ ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदै छ । अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त । यी सबै सङ्कट र तापको रामवाण औषधि भनेको नै योग हो । त्यसैले त भनिएको छ, ‘भवतापेन तप्तानां योगो हि परमौषधम’ । अर्थात् निश्चय नै योग अचेलका नानाविधि ताप–सन्तापको जडी औषधि हो । यही योगरूपी अमृततुल्य औषधिलाई आत्मसात् गर्ने, यसमाथि चिन्तनमनन गर्ने र यसको यथोचित प्रचारप्रसार गर्ने पर्वको नाम हो अन्तराष्ट्रिय योग दिवस । विश्वका २०० अधिक देशमा एकसाथ मनाइने एक मात्र उत्सव हो योग दिवस । यो दिवस मनाउने क्रममा सुरु सुरुमा केही मतभेद, विवाद र विरोध सुनिए पनि आज आएर योग विज्ञानप्रति कुनै पनि विवाद र विरोध सुनिँदैन । यसलाई एउटा आत्मोत्कर्षको विज्ञान, सार्वभौम चिकित्सा पद्धति र प्राकृतिक जीवनशैलीका रूपमा निसर्त स्विकारिएको पाइन्छ । हामी नेपालीका लागि यो महान् गौरवको विषय हो किनकि योगको उद्गम भूमि यही भूमि हो । हाम्रै पूर्वज ऋषिमहर्षिले योगको आविष्कार गरेका हुन् । योगसँगै उनीहरूले आयुर्वेद, वेद, ज्ञान, साधना र अध्यात्मविज्ञानको पनि आविष्कार गरेका थिए जुन आज विश्वभरि प्रचारित र प्रसारित भइरहेको छ ।
विविधतापूर्ण योगविज्ञान
आमधारणा जस्तै योग आधा–एक घन्टामा गर्ने व्यायाम कसरत मात्र हैन, प्रतिपल, प्रतिक्षण र सास सासमा चलिरहने प्रक्रिया हो । महर्षि अरविन्दले भन्नुभएको छ, “प्रत्येक श्वास योग साधना हो ।” यो व्यावहारिक परिप्रेक्ष्यमा योगजीवन जिउने कला हो । योगविज्ञानका अध्येताका अनुभवानुसार योग समग्र जीवन पद्धति हो, सर्वाङ्गीण जीवनदर्शन हो । अध्यात्म वैज्ञानिकको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो । ऋषिमहर्षि सूक्ष्म द्रष्टाहरूका भनाइमा योग समाधिको यात्रा हो । महर्षि पतञ्जलि भन्छन्, “मन (चित्त) का वृत्तिको यथोचित निरोध नै योग हो ।” यी विभिन्न अभिमतमध्ये तपाईँलाई जुन तर्क अधिक मन पर्छ, त्यसलाई सहर्ष स्विकार्न सक्नुहुने छ । व्यक्तिपिच्छे रूचि, क्षमता, कर्म र संस्कारको स्तर भिन्न हुने गर्छ । कुनै व्यक्ति तर्कशील र बौद्धिक हुन्छ भने कुनै भावनाशील र भक्तिवान् । जसमा जुन किसिमको क्षमता र अभिरूचि हुन्छ, सोहीअनुरूप ऊ योगमार्गको चयन गर्न सक्छ । त्यसैले गर्दा योग–आविष्कारले अनेकौंँ प्रकारका योग प्रणालीको प्रवर्तन गरेका छन् । पृथक् पृथक् प्रकारका योग पद्धति खास गरी विविधताले भरिएका जिज्ञासुको सुविधामाथि ध्यान राखेर विकसित भएको हुनुपर्छ ।
प्रचलित प्रमुख योग प्रणाली यस प्रकार छन् – कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टाङ्ग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग । आजभोलि योगका नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंश मात्र हो । समग्रतामा योग अत्यन्तै व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै छेक्दैन । जहिले, जहाँ, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ । शरीर रहुन्जेल हाम्रो शरीर कुनै न कुनै आसनमा अवस्थित हुने गर्छ । आसनबिना शरीर अस्तित्वमै रहँदैन । हरघडी शरीरको अवस्था, दशा, लयबद्धताप्रति सजग हुनु नै आसनाभ्यास हो । प्रत्येक मिनेट १६÷१७ पटक लिने छाड्ने श्वासप्रश्वासलाई परिष्कृत गर्नु प्राणायाम हो । यसरी जीवनका प्रत्येक आयाममा उत्कृष्टता, विशुद्धता र दिव्यता थप्दै जानलाई केले छेक्ने ? स्मरण रहोस्, शरीर र मनको उपलब्धता नै योगको प्रयोगशाला हो । पट्टाभि जोइस भन्छन्, “जो यसलाई चाहन्छ, योग हरेकका लागि सम्भव छ । योग एक ब्रह्माण्डीय विषय हो तर यसलाई व्यापारिक उद्देश्य र सांसारिक कमाइको उद्देश्यले प्रयोग गर्ने भुल नगर ।”
योग नगरे गुम्छन् फाइदा
शारीरिक – ओजस्वी शरीर, आरोग्यवान् एवं स्वस्थ शरीर, तन्दुरूस्त एवं सुगठित काया, कर्मसामथ्र्यले युक्त तन, तेजोमय मुखमण्डल, स्फूर्तिवान् व्यक्तित्व, भरिपूर्ण जीवनीशक्ति, दुःखकष्ट तथा घामपानी सहन सक्ने ज्यान । प्राणिक–प्राण सम्पन्न प्यक्तित्व, आँखामा तेज, त्वचामा चमक, प्रबल रोग प्रतिरोधी क्षमता, जाडो–गर्मी जुनसुकै स्थानमा अनुकूलित हुन सक्ने, उन्नत एवं सुविस्तृत आभा मण्डल भएको । मानसिक – तीक्ष्ण (बौद्धिक क्षमता), एकाग्रता क्षमता, स्मृति क्षमता, बोध क्षमता, ग्रहण क्षमता, धारणा क्षमता, ध्यान क्षमता जस्ता मानसिक क्षमताले युक्त । सिर्जनात्मकता, रचनात्मकता, मनस्विता, अन्तज्र्ञान, भाषिक चातुर्यता, भेद चातुर्यता, निर्णयशीलता, लक्ष्यशीलता, नेतृत्वक्षमता, प्रबन्धक्षमता, कलाकौशल आदि कसौटीमा प्रखर । नैतिक–नीतिवान्, सदाचारी, सत्यनिष्ठ, अहिंसावादी, एमआई अर्थात् मोरल इन्टेलिजेन्ससम्पन्न, विश्वसनीय, अपरिग्रही (अनावश्यक सम्पत्ति नथुपार्ने), समाजनिष्ठ, सामूहिकता एवं सहकारिताको गुणयुक्त, सहअस्तित्वप्रेमी, प्रकृतिप्रेमी, पर्यावरणप्रेमी, आदर्शवान् । आध्यात्मिक – हृदयवान्, भावनाशील, परानुभूतियुक्त, कर्मशील, कर्मफल विधानको अनुयायी, संस्कारवान्, सङ्कल्पशील, ईश्वरानुरायी, आसक्तिविहीन, न्यायप्रेमी, सर्वप्रिय, प्रेमवान्, दिव्यगुणले युक्त ।
योग क्षेत्रमा धमाका
अहिलेको पुस्ता क्रमशः दुर्बल र लक्ष्यहीन हुँदै गइरहेको छ । अहिलेको युगलाई तनाव र डिप्रेसनको युग पनि भन्न थालिएको छ । धनसम्पत्ति र पदप्रतिष्ठाको स्वामी भएकै कारण आजको मान्छे आफूलाई बलवान् ठान्ने गर्छ जबकि उसको स्वामित्वमा रहेको वस्तु हटाइदिने हो भने शरीरबल, मनोबल र आत्मबल नितान्त क्षीण हुँदै गएको छ । यस परिप्रेक्ष्यमा अब योगबाहेक अर्को समाधानै देखिँदैन उसको मानसिक नपुंसकता र दुर्बलतालाई निवारण गर्ने । योगमा केवल विरासन र सिंहासन मात्रै गरिँदैन । यसले वीर र सिंहस्वरूपसमेत बन्न सिकाउँछ । अन्यथा योगमा निहित बलप्रदायक विशेषताको वर्णन योगगुरू अमित राय किन यसरी गर्थे, “योग केवल केही आसनको पुनरावृत्ति होइन, यो त्यो विद्या हो, जसले हामीभित्र विद्यमान सूक्ष्म ऊर्जा भण्डार खोज्ने र प्रस्फुटित गर्ने काम गर्छ ।”
धेरैजसो मानिस आज धन र सुविधा बटुल्ने अन्तहीन दौडमा छन् । मान्छेलाई न चैन छ न विश्राम गर्ने समय । आवश्यकता र विलासिताको साधन कमाउने दौडमा जब मान्छे थाक्छ, वाक्क–दिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे कालो होस् चाहे गोरो, चाहे सनातनी होस् चाहे गैरसनातनी, चाहे साम्यवादी होस् चाहे अरू कुनै वादी । हाम्रा अन्वेषक पूर्वजले प्रवर्तन गरेको योग, हामी तिनैका सन्तति भएर पनि योग त्यतिसारो गर्दैनौंँ । हाम्रो पूर्वीय इतिहाससँग कुनै सम्बन्ध नभएको पश्चिममा अहिले योग क्षेत्रमा धमाका भइरहेको छ । के यो योगबलको प्रभाव हैन ? तपाइँर्, हामीमध्ये कतिपयको योग सुरू गरौंँला भन्दा भन्दै वर्षाैंँ बितेर गएको छ । ती पश्चिमा भने “योग गरौंँ आजैदेखि” भन्ने नारा बोकेर दिनैपिच्छे लाखौँ मान्छेलाई योगसँग जोडिरहेका छन् । जहाँ जहाँ योग विषयक उत्सव, महोत्सव, कार्यशाला र कुम्भमेला हुने गर्छ, गोरो छाला भएकाको सङ्ख्या ठुलो हुने गर्छ । यसैले उनीहरू भौतिकताको विलासिताबाट अघाएर अब योगसाधनाको मार्ग खोजिरहेका छन् ।
संयुक्त राज्य अमेरिकामा मात्रै योग क्षेत्रमा करोडाँैं डलरको कारोबार भइरहेको छ । अमेरिकामा एक लाख बढी दर्तावाल योग शिक्षक कार्यरत छन् । महँगा सहरमा महँगा किसिमका योग स्टुडियो, लाइफ स्टाइल क्लिनिक, योग पार्लर, योग सेनिटोरियम र योग क्लब धमाधम खुलिरहेका छन् । योग गर्न कुनै थप योग्यता चाहिँदैन र तपाईँ नै यसको उत्कृष्ट पात्र हुनुहुन्छ ।
आफैं रोजौंँ योगपथ
‘योग’ का विषयलाई आज कतिपय योगगुरूले धेरै जटिल बनाइदिएका छन् । आमधारणा कस्तो छ भने योग भनेको रोग लागेपछि गर्ने, सेवानिवृत्त भएपछि गर्ने या काम नभएकाले गर्ने भन्ने परेको छ । अर्कातिर भेषधारी, वैरागी, गृहत्यागी, जटाधारी, अकर्मण्यले हिँड्ने बाटो हो भन्ने पनि छ । यस्ता भ्रान्तिका बिच एउटा योगानुरागी तप्का चाहिँ हठयोगप्रधान आसन प्राणायाम चाहिँ हामीले पनि गर्न हुने रहेछ भनेर त्यसमा लागिरहेको छ । आधुनिक भोगवादी पुस्ताको बहुसङ्ख्यक मान्छे योगलाई अझै पनि जीवनको गैर विषयवस्तु सम्झन्छ जबकि योग सबैका लागि र प्रत्येक मनुष्यका लागि हो । मनुष्य चोलामा जन्म लिनु नै योगको सार्वभौमिक योग्यता हो । युगऋषि आचार्य श्रीराम शर्माले भनेका छन्, “यस्तो सुगम मार्गलाई पनि आज मान्छेले दुर्गम मानेर बसेका छन् । योग गर्नलाई ‘मन’ भए पुग्छ । मनमा तत्परता र तन्मयता छ भने योग जसले पनि गर्न सक्छ । यो कुनै पनि हालतमा कठिन छैन, आफ्नै हातको खेल हो । तर साहस र श्रद्धा चाहिँ चाहिन्छ ।”
योगबाट हरेक व्यक्ति लाभान्वित हुन सक्छ, पेसा, काम, जातजाति, लिङ्ग, धर्म र भाषाले रोक्दैन । तपाईँ आफ्नो व्यक्तित्व, अभिरूचि, आन्तरिक संस्कार र क्षमतानुसार जुन योगपथ रुचाउनुहुन्छ, त्यसमा अग्रसर हुनुहोस् तर आजैदेखि । यसै पनि यस वर्षको नारा पनि ‘योग फर सेल्फ एन्ड सोसाइटी’ अर्थात् स्व र स्वसमाजका लागि योग रहेको छ । यस किसिमको नाराका साथ दसौँ अन्तरराष्ट्रिय योग दिवस मनाइरहँदा बालज्ञानी गुरू आदित्य नामले सुपरिचित योगी चैतन्य आदित्यनाथको यो कथनलाई एक पटक हृदङ्गम गरौँ, “योग, ध्यान, साधनाबिनाको सुखद् जीवन नियाल्दै छौँ भने आँखा भए पनि तिमी अन्धो छौ, सबै अङ्गमा चेतना भए पनि तिमी लुलो हौ ।”
(लेखक मानव चेतना एवं योगविज्ञानका प्रशिक्षक हुन् ।)