अपर त्रिशूली वान २१६ मेगावाट विद्युतको निर्माण तीव्र

  • त्रिशूली प्रवाह
  • २१ असार २०८१, बिहीबार १२:१७
  • ज्ञानेन्द्र न्यौपाने

रसुवा, नदी, खोलामा अपार रूपले खेर गइरहेको पानीलाई सदुपयोग गर्दै भूमिगत संरचनाबाट निर्माण कार्य अगाडि बढिरहेको अपर त्रिशूली वान जलविद्युत् आयोजनाले करिब ६५ प्रतिशत सुरुङ खन्ने काम पूरा गरेको छ ।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको अपर त्रिशूली वान नामक राष्ट्रिय गौरवको जलविद्युत् कम्पनी जिल्लाकै सबैभन्दा ठूलो हो । २१६ मेगावाट क्षमता भएको सो जलविद्युत् योजनाले छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको छ । सुरुङ खन्ने काम हालसम्म समग्रमा ६५ प्रतिशत प्रगति हासिल गरिसकेको आयोजनाका प्राविधिकले बताएका छन् । अन्य विद्युत् आयोजनाको तुलनामा अपर त्रिशूलीको प्रगति उल्लेखनीय रहेको छ । विभिन्न बाधा, अवरोह पार गर्दै सन् २०१९ देखि निर्माण चरणमा अगाडि बढेको जलविद्युत् आयोजनाले हाल चार सय २० मिटर हेडरेस सुरुङलगायतका मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत पूरा गरी सिमेन्ट कङ्क्रिट गर्ने कार्य अगाडि बढिरहेको छ भने विद्युत्गृह र टान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना तयार पारिसकेको छ । सुरुङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ । धुन्चेको दोभान त्रिशूली तथा भोटेकोसी नदीको संगमस्थलमा बाँध बाँधी साढे ६ मिटर गोलाइ साइजको नौ हजार चार सय ९१ मिटर हेडरेस सुरुङको सहायताबाट प्रतिसेकेन्ड त्रिशूली नदीको पानी ७६ क्युबिक सेकेन्ड मैलुङ दोभानमा पुर्याई तीनवटा टर्बाइनबाट दुई सय १६ मेगावाट विद्युत् उत्पादन गर्ने योजना रहेको छ ।

आगामी सन् २०२६ को डिसेम्बरभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने गरी आयोजनाका सम्पूर्ण कर्मचारी अहोरात्र खटिरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काले जानकारी दिए । सम्पूर्ण संरचना भूमिगत रहने भएका कारण बाढी, पहिरो, भू-क्षय, चट्याङ तथा भूकम्पजस्ता कुनै पनि असर नपर्ने वातावरणविज्ञ मधु पाण्डेले बताए । आयोजना निर्माणको क्रममा कुनै पनि वातावरणलाई असर नपार्ने गरी स्थानीय बासिन्दालाई सम्मानजनक व्यवहार गर्दै कार्य अगाडि बढिरहेको उनले बताए । विद्युत् उत्पादन गर्न करिब ७०–८० अर्ब रुपैयाँको लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्षपछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ । आयोजनाको कार्यप्रगतिबारे आमनागरिकलाई सुसूचित गराउने अभिप्रायले रसुवामा क्रियाशील पत्रकारसँग बेलाबेलामा अन्तक्रिया हुने गरेको छ । कोरियन लगानीमा निर्माण भइरहेको आयोजना राजधानी काठमाडौंबाट तीन घण्टाको छोटो दूरी ९४ किलोमिटर उत्तरको मैलुङ दाङ्गा भिरभित्र विद्युत्गृह रहनेछ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको बेत्रावती–स्याफ्रुबेँसी खण्डको मैलुङ क्षेत्रमा विद्युत्गृह र हेडगेट निर्माण भइरहेकाले निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ ।

IFC, KOREA EXIM, ADB, ALLB, KDB, BLL, FMO, PROPARCO, OPEC FUND समेतका नौ बैंक तथा दाता संस्थाको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो जलविद्युत् निर्माणमा कोरियन प्राविधिकसमेत रहेका छन् । प्रभावित क्षेत्रमा इआइएले औँल्याएका र स्थानीयस्तरको तत्कालको आवश्यकता पूरा गर्दै निर्माण कार्य अगाडि बढिरहेको आयोजनाले धुन्चेमा रहेको रसुवा माविको विद्यार्थी छात्रावास, हाकुवेंशीमा पक्की पुल निर्माणजस्ता महत्वपूर्ण कार्य गर्नुको साथै भूकम्प तथा कोभिडको समयमा राहत एवम् स्वास्थ्य क्षेत्रलाई सहयोग गरेको छ । आयोजनाले नेपाल प्रहरीलाई हाकुमा सुरक्षाचौकी निर्माण गर्न जग्गा प्रदान गरेको, सशस्त्र प्रहरी बल धुन्चेको भान्साघर निर्माणमा सहयोग गरेको छ । आयोजना निर्माणमा स्थानीयवासीले गर्न सक्ने सबै काम स्थानीयबाटै भइरहेको आयोजनाका प्रबन्ध–निर्देशक गिरीराज अधिकारीले बताए । उनले भने, ‘कम्प्युटर, भाषा, कुक, सवारीसाधन चलाउने, सीपमूलक तालिमसमेत स्थानीयको मागअनुसार दिइसकेका छौँ ।’