
विदुर, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नुवाकोट जिल्लाबाट परीक्षा दिएका कुल तीन हजार आठ सय ४४ विद्यार्थीमध्ये एक हजार ६ सय ४५ मात्र उत्तीर्ण भएका छन् । गत वर्ष चैत १५ देखि सुरु भएको एसइईको नतिजा गत बिहीबार सार्वजनिक भएको थियो । जिल्लाका एक सय ५० संस्थागत र सामुदायिक विद्यालय एसइईमा सहभागी भए पनि सात विद्यालयको नतिजा शून्य आएको छ । एक विद्यालयको खुला अर्थात् प्राइभेट परीक्षामा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी कुल विद्यार्थीको ४२.७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये ५७.३० प्रतिशत अर्थात् दुई हजार एक सय ९९ विद्यार्थी ननग्रेड (अनुत्तीर्ण) भएको जिल्ला विकास तथा समन्वय एकाइ नुवाकोटका परीक्षा शाखा प्रमुख सम्झना थपलियाले बताइन् । उनका अनुसार परीक्षामा चार जिपिए (ग्रेड प्वाइन्ट एभरेज) सुभेनियर बोर्डिङ स्कुलकी छात्रा सिम्रिका रिजालले ल्याएकी छिन् । अहिलेसम्म नुवाकोटबाट चार जिपिए कसैले ल्याउन सकेका थिएनन् । रिजाल चार जिपिए ल्याएर जिल्ला प्रथम भएकी छिन् । ३.९६ जिपिए अर्किड एकेडेमीका छात्र अविरल श्रेष्ठ तथा पृथ्वी माविका जिया खड्का र रेजिना भण्डारीले ल्याएका छन् । त्यसैगरी ३.९५ जिपिए कल्याणकारी बोर्डिङ स्कुलकी समीक्षा श्रेष्ठ र सुभेनियर बोर्डिङ स्कुलकी युनिका पौडेलले ल्याएका छन् । त्यसैगरी ३.९१ जिपिए ल्याउनेमा जेडी बोर्डिङ स्कुलकी डोल्मा शेर्पा ह्योल्मो, सुभेनियर बोर्डिङ स्कुलकी पूर्णिका पाण्डे, दिव्यरत्न बोर्डिङका प्रसन्न रिमाल तथा अर्किड एकेडेमीका अदीति अधिकारी, मिसन ढुङ्गाना र पुजिना धमला छन् । यसपटक ३.९१ जिपिए ल्याउनेमा पृथ्वी माविका आयुषा शाक्य र सिमन पाठक तथा कर्मसिंह एकेडेमीका सोनी घले छन् । ३.९० जिपिए ल्याउनेमा पृथ्वी माविकी अजिता न्यौपाने छिन् । उच्चतम जिपिए ल्याउने १६ विद्यार्थीमध्ये सामुदायिक विद्यालयका पाँच छन् जो पृथ्वी मावि विदुरका हुन् । संस्थागत विद्यालयतर्फ भने अर्किडका चार, सुभेनियरका तीन तथा कल्याणकारी, दिव्यरत्न र कर्मसिंहका एक–एक छन् । परीक्षा दिनेमध्ये ३.६ देखि चार जिपिए प्राप्त गर्ने एक सय ४५, ३.२ देखि ३.६ जिपिए ल्याउने तीन सय ३६, २.८देखि ३.२ जिपिए ल्याउने ६ सय ५५, २.४ देखि २.८ जिपिए ल्याउने चार सय ७२ र २ देखि २.४ जिपिए ल्याउने ३६ जना रहेको परीक्षा शाखा प्रमुख थपलियाले जानकारी दिइन् ।
शून्य नतिजा
यसपटक एसइईमा सेतीदेवी मावि, विदुर–११ गेर्खु, सरस्वती मावि, ककनी, चण्डादेवी मावि, बेलकोटगढी, मदानपुर, सीता मावि म्यागङ, बर्सुन्चेत, दुधेदेवी मावि, सूर्यगढी, लच्याङ, अरुणोदय मावि, ककनी, मात्रागाउँ र कमलमाणिक मावि दुप्चेश्वरको शून्य नतिजा आएको छ । त्रिभुवन त्रिशूली मावि, विदुर, त्रिशूली बजारको प्राइभेट एसइई दिएका आठजना पनि उत्तीर्ण हुन सकेनन् । यस वर्ष जिल्लाको संस्थागत विद्यालयको नतिजासमेत खस्केको छ । पछिल्लो समय उदार कक्षोन्नतिको प्रभाव नतिजामा देखिएको प्याब्सन नुवाकोटका पूर्वाध्यक्ष एवम् पूर्वकेन्द्रीय सदस्य तथा अर्किड एकेडेमी बट्टारका सञ्चालक रामहरि रिमालले बताए । करिब एक दशकसम्म गरिएको उदार कक्षोन्नतिको अभ्यासले विद्यार्थीमा नपढे पनि उत्तीर्ण भइन्छ भन्ने मानसिकता बढेकाले नतिजा खस्केको उनले जिकिर गरे । विगत वर्षमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने संस्थागत विद्यालयको समेत नतिजा सन्तोषजनक देखिएन । यस वर्ष सदरमुकाममा रहेका कल्याणकारी, दिव्यरत्न र कर्मसिंहका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कल्याणकारीबाट चार, दिव्यरत्नबाट आठ र कर्मसिंहबाट नौजना परीक्षामा सामेल भएका थिए । यसपटकको एसइई परीक्षामा चार जिपिए ल्याएर जिल्ला प्रथम हुने सुभेनियरले ८५.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सकेको छ । उक्त विद्यालयबाट ४१ सहभागीमध्ये ३५ जना मात्र उत्तीर्ण भएका छन् ।
प्रत्येक विषयमा सैद्धान्तिक (लिखित)तर्फ न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थी ननग्रेड (अनुत्तीर्ण) हुने व्यवस्थाअनुसार पहिलोपटक एसइईको नतिजा सार्वजनिक गरिएको हो । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसइई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अङ्क ल्याउनैपर्छ । १.६ जिपिएभन्दा कम अङ्क ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी)मा पर्छन् । विगत नौ दशकदेखि चल्दै आएको प्रवेशिका परीक्षा माध्यमिक शिक्षा परीक्षाका रूपमा फेरिएपछि अङ्क मूल्याङ्कन पद्धतिलाई ०७२ सालदेखि लेटर ग्रेडिङ (अक्षराङ्कन)मा परिवर्तित गरियो । त्यसपछि ०७३ सालदेखि सबै विद्यार्थी उत्तीर्ण हुन थालेपछि पढ्न र पढाउनमा उदासीनता छायो । पढाइका सुधारमा ध्यान नदिई परीक्षा प्रणालीमा मात्र परिवर्तन गर्दा शिक्षामा गुणस्तरीयता कायम नभएको विज्ञहरू बताउँछन् ।
आन्तरिक मूल्याङ्कनबाट नतिजा दिन थालेपछि विद्यार्थीको पढ्ने बानी घटेको र शिक्षकमा गाइड, गेसपेपरमा ध्यान दिँदा सिर्जनशीलता घटेकाले अहिलेको नतिजा निराशाजनक देखिएको बताइएको छ । पठनपाठनमा हेलचेक्र्याइँ गरिँदा एसइईमा विद्यार्थीको उत्तीर्ण दर घटेको शिक्षासम्बद्ध व्यक्तिले बताएका छन् । सरकारले अन्धाधुन्ध मावि स्वीकृति दिने, तर शिक्षक दरबन्दी नदिएको तथा माविमा साधनस्रोत नहुँदा नहुँदै प्रावि दरबन्दीमा रहेका शिक्षकहरूले माध्यमिक तहमा अध्यापन गराउनुपर्ने बाध्यताले पनि अनुत्तीर्ण दर बढाउन मद्दत गरेका छन् । शिक्षकहरूको ध्यान अध्ययन–अध्यापन सुधारभन्दा राजनीतिमा ध्यान दिने, दलहरूको सदस्य भएर बैठक, अधिवेशनमा उपस्थिति जनाउनेजस्ता थुप्रै कारण पनि हाम्रो शिक्षा असफल हुनामा जिम्मेवार छन् । अभिभावकले पनि आफ्ना सन्तानको पढाइको अवस्थाबारे ध्यान नदिनाले केही हदसम्म हाम्रो पढाइको स्तर खस्केको मान्न सकिन्छ ।
एसइई अनुत्तीर्ण सबै परीक्षार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत शुक्रबार यसबारेमा निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका अनुसार दुईभन्दा बढी विषयमा एनजी आएका परीक्षार्थीलाई पनि ग्रेड वृद्धि परीक्षामा बस्न पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकिएको छ । हाल कार्यान्वयनमा रहेको अक्षराङ्कन (लेटर ग्रेडिङ) निर्देशिकाअनुसार अधिकतम दुई विषयमा एनजी आएका परीक्षार्थीले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिइसकेको छ ।
साथै, ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने विद्यार्थीलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत निर्देशन दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार एसइई नतिजा सार्वजनिक गरेको थियो । नतिजाअनुसार दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी एनजीमा परेका छन् । यो सङ्ख्या परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो । यस वर्षको मौका परीक्षा आगामी साउन अन्तिम साताका लागि तोकिएको छ ।