तेक्वान्दो डोजाङको कर्भडहल भवन उद्घाटन

  • त्रिशूली प्रवाह
  • २१ असार २०८१, बिहीबार १२:४१

सूर्यगढी, नुवाकोटको सूर्यगढी गाउँपालिका-३ चोगदेमा नवनिर्मित तेक्वान्दो डोजाङको कर्भडहल भवन शनिबार उद्घाटन भएको छ । नेकपा (एमाले)की केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले उक्त भवनको उद्घाटन गरेकी हुन् ।

भवन निर्माणमा ८० प्रतिशत भन्दा बढी सहयोग गरेकी प्रमुख अतिथि ढुङ्गानाले नवनिर्मित भवन सूर्यगढी गाउँपालिकावासीको सम्पत्ति भएकाले यसको सहयोग र संरक्षणमा सबैले चासो दिनुपर्ने बताइन् । उनले भनिन्, ‘खेलाडी देशको गौरव र पहिचान भएकाले स्थानीय सरकारले खेल र खेलाडीलाई अवसर दिनुपर्छ ।’ धनारथुम्की सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको जग्गामा लगभग ३० लाख रुपैयाँको लागतमा कर्भडहल निर्माण भएको हो । हल निर्माणका लागि केन्द्रीय सदस्य ढुङ्गानाको परिवारको मात्र २३ लाख ८७ हजार सात सय ६० रुपैयाँबराबरको नगद र निर्माण सामग्री सहयोग प्राप्त भएको डोजाङ प्रमुख सन्तोष प्याकुरेलले सो अवसरमा जानकारी दिए । ढुङ्गाना परिवारसहित अन्य ४८ जना दाताले तीन लाख ७८ हजार नगद सहयोग गरेकोसमेत उनले बताए । हलमा ५८ हजार रुपैयाँको ओछ्याउने म्याट स्थानीय समाजसेवी राजेन्द्र प्याकुरेलले प्रदान गरेकोसमेत उनले बताए ।

उद्घाटन समारोहमा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशका अध्यक्ष केशव पुरी, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राई, नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटा, सूर्यगढी गाउँपालिका–३ का अध्यक्ष पिङ्गलबहादुर थापामगर, पूर्ववडाध्यक्ष ऋषिबहादुर पौडेल, बागेश्वरी माविका प्रधानाध्यापक जनार्दन अधिकारी, समाजसेवी एवम् बागेश्वरी माविका पूर्वप्रधानाध्यापक अणबहादुर प्याकुरेल, नेकपा एमाले सूर्यगढी गाउँ कमिटीका अध्यक्ष राजेन्द्र रिजाललगायतले सहयोगी दातालाई सम्मान गर्दै नवनिर्मित भवनलाई बहुउद्देश्यीय उपभोग गर्न सुझाव दिएका थिए ।