मगर बचत तथा कर्जा लगानी कोषको विशेष साधारणसभा

  • त्रिशूली प्रवाह
  • २१ असार २०८१, बिहीबार १३:३५

बट्टार, मगर बचत तथा कर्जा लगानी कोष नुवाकोटको विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष बच्चुमाया सुनारीमगरको अध्यक्षता तथा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवम् पूर्वजिल्ला अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) बागमती प्रदेश समितिका सचिवालय सदस्य भगवान रानामगरको प्रमुख आतिथ्य र नेपाल मगर सङ्घ बागमती प्रदेश समितिका सदस्य तथा पूर्वजिल्ला अध्यक्ष शुभाकर थापामगरको विशेष आतिथ्यमा सम्पन्न साधारणसभामा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नुवाकोटका पदाधिकारी, सदस्य र मगर बचत तथा लगानी कोषका सेयरधनीको सहभागितामा रहेको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल मगर सङ्घ, नुवाकोटका जिल्ला उपाध्यक्ष तथा मगर बचत तथा कर्जा लगानी कोषका संस्थापक अध्यक्ष एवम् सेयर सदस्य रामकुमार थापामगर र सेयर सदस्य लक्ष्मी आले (थापा) मगर र स्वागत मन्तव्य नेपाल मगर सङ्घ, नुवाकोटका जिल्ला सचिवालय सदस्य तथा सेयरधनी ईश्वर थापामगरले गरेका थिए । कार्यक्रममा शुभाकर थापामगर, नेपाल मगर सङ्घका पूर्वजिल्ला सदस्यद्वय रामचन्द्र रानामगर र रजनी थापामगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ जिल्ला समन्वय परिषद् नुवाकोटका सचिवालय सदस्य देवीमाया बाराकोटी मगरले संस्थागत विकासका लागि कोषले सक्रियता बढाउनुपर्ने भनाइ राखेका थिए । प्रमुख अतिथि रानामगरले व्यक्तिगत घमण्डीपन, अधिनायकवाद त्यागी समूहगतको संस्थागत निर्णय तथा विकास र मान–मर्यादा विषयमा नेपाल मगर सङ्घको विधान र मगर बचत तथा लगानी कोषको विनियमअनुसार अघि बढ्न सुझाव दिए । साधारणसभाले कोषको सात सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । कोषको अध्यक्षमा विश्वराज जर्गामगर, उपाध्यक्षमा रजनी थापामगर, सचिवमा ईश्वर थापामगर, सहसचिवमा रामकुमार थापामगर, कोषाध्यक्षमा लक्ष्मी आले (थापा)मगर र सदस्यमा देवीमाया बाराकोटी मगर, गणेश थापामगर चयन भएका छन् । साधारणसभाले तीन सदस्यीय लेखा समिति शुभाकर थापामगरको संयोजकत्वमा गठन गरेको छ जसमा रामचन्द्र रानामगर, योगमाया गिदेलमगर सदस्य रहेका छन् । त्यसैगरी, तीन सदस्यीय ऋण समितिमा लक्ष्मी आले (थापा)मगर संयोजक र रामकुमार थापामगर, शर्मिला थापामगर सदस्य रहेका छन् । कोषको सल्लाहकार समितिको संयोजकमा भगवान रानामगर र सदस्यमा रामकृष्ण थापामगर, बच्चुमाया सुनारीमगर चयन भएका छन् ।