पञ्चकन्या : एक हजार योजनामा बजेट विनियोजन

  • त्रिशूली प्रवाह
  • २८ असार २०८१, बिहीबार १२:४७
  • राजेन्द्र बस्नेत

लाँकुरीभञ्ज्याङ, नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र योजना तथा बजेट स्वीकृत गरेको छ । नेपालको संविधानको व्यवस्थाअनुसार असार १० गते नै नीति तथा कार्यक्रम र योजना तथा बजेट पेस गरेको पालिकाले कुल रु. ४७ करोड ३६ लाख ३८ हजार बजेटमा नौ सय ५२ योजना सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका उपाध्यक्ष विमला केसीले प्रस्तुत गरेको बजेटको प्राथमिकतामा गाउँपालिकाको सबलीकरण र सार्वजनिक सेवा प्रवाहमा सुधार, गुणस्तरीय भौतिक पूर्वाधार, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, कृषि र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन, औद्योगिक विकास र नीति क्षेत्रको प्रवद्र्धन, वातावरण संरक्षण र विपत् व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना छन् । पालिकाले हरेक क्षेत्रमा नारा नै तयार पारी जनाकर्षण बढाउने प्रयास गरेको छ । ‘जग्गा बाँझै नराखौँ, कृषि कर्मलाई सम्मान गरौँ’, ‘खेतीपातीमा प्रविधि सेवा, उत्पादनमा टेवा’, ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’, ‘धर्म र पर्व, हाम्रो गर्व’, ‘महिलासँग जनप्रतिनिधि’, ‘गुणस्तरीय स्वास्थ्य उपचार : जनताको अधिकार’, ‘स्वच्छ र सफा पिउने पानी, स्वस्थ जिन्दगानी’, ‘एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’, ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’लगायत नारा पनि सार्वजनिक भएको छ । पालिकाले सभामा पेस गरेको कृषि विकासमार्फत रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य प्राप्तिका लागि रु. ७० लाख बजेट विनियोजन भएको छ । जग्गामा सिँचाइ सुविधा पुर्याई कृषि उत्पादन वृद्धि गर्न रु. ४२ लाख ८४ हजार विनियोजन गरिएको छ । त्यसैगरी सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई प्रतिलिटर रु. तीन अनुदानका लागि रु. १० लाख २४ हजार विनियोजन भएको छ । पशु स्वास्थ्य परामर्श, आधारभूत औषधि वितरण, पशु बिमा कार्यक्रम र पशुपक्षी प्रवद्र्धन कार्यक्रमका लागि रु. २१ लाख चार हजार विनियोजन गरिएको छ ।

त्यसैगरी गाउँसभाले उद्योग व्यवसाय प्रवद्र्धन गर्न तथा सार्वजनिक–निजी साझेदारी कार्यक्रम गर्न उद्योग–वाणिज्यतर्फ रु. २३ लाख बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धनका लागि रु. ११ लाख ५० हजार र भाषासंस्कृतितर्फ रु. एक करोड ५६ लाख १० हजार विनियोजन गरिएको छ । सहकारी क्षेत्रका लागि रु. १४ लाख, सहिद स्मारक पर्यटकीय पार्क निर्माण, खेलमैदान स्तरोन्नतिका लागि रु. १५ लाख, श्रम तथा रोजगारी क्षेत्रमा रु. ९७ लाख विनियोजन भएको छ । महिला स्वयम्सेविका प्रोत्साहन भत्ता र सम्मानजनक बिदाइका लागि रु. २६ लाख, जनस्वास्थ्य तथा पोषण क्षेत्रमा रु. तीन करोड ६३ लाख विनियोजन गरिएको छ । शिक्षा तथा सीप विकास तालिम र पारिश्रमिकका लागि रु. १४ करोड १७ लाख तथा खानेपानी योजनातर्फ रु. एक करोड २२ लाख ६५ हजार विनियोजन भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका, आदिवासी जनजाति, दलित उत्थान र सीमान्तकृत समुदायको अधिकार सेवा, सुविधा, क्षमता विकासका लागि रु. २७ लाख ५० हजार विनियोजन भएको छ । खेलकुद क्षेत्रमा युवा क्लबलाई क्रियाशील गराउन रु. ८० लाख ५० हजार, आवास भवनतर्फ रु. ६८ लाख ५० हजार र सडकलाई मापदण्डअनुसार स्तरोन्नति गर्न रु. १२ करोड ९२ लाख विनियोजन भएको छ । सौर्य ऊर्जा उत्पादन प्रोत्साहनका लागि रु. १३ लाख, कागजविहीन पालिका बनाउने कार्यक्रमका लागि रु. ४८ लाख ५० हजार, प्राकृतिक प्रकोप न्यून गर्न रु. ४० लाख, प्रारम्भिक वातावरणीय परीक्षणका लागि रु. १० लाख, सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणका लागि रु. पाँच लाख, न्यायिक समितिलाई रु. १० लाख, सूचनाको हकसम्बन्धी कानुनको पूर्ण सम्मानका लागि रु. एक करोड ६ लाख ५० हजार विनियोजन गरिएको छ । कुल बजेटमध्ये रु. २८ करोड ९३ लाख ६ हजार चालूतर्फ र रु. १८ करोड ४३ लाख ३० हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । आव ०८१/८२ को आयतर्फ पालिकाको आन्तरिक राजस्वबाट रु. ८० लाख, स्थानीय राजस्व बाँडफाँटबाट रु. ३७ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट रु. ३७ करोड ४३ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट रु. सात करोड ३५ लाख ५२ हजार चार सय र अन्य स्रोेतबाट रु. दुई करोड ५२ लाख ७७ हजार आठ सय व्यहोर्ने अनुमान गरिएको छ ।