आगन्तुकको रोजाइमा शङ्खपार्क

  • त्रिशूली प्रवाह
  • २८ असार २०८१, बिहीबार १३:२२
  • सरस्वती न्यौपाने

धुन्चे, गोसाइँकुण्ड-६ धुन्चेस्थित शङ्खपार्क आगन्तुकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम आइपुग्ने सबै आन्तरिक तथा बाह्य पर्यटकले टुल्कुछोलिङ गुम्बासँगै बीचबजारमा अवस्थित सो उद्यानबारे चासो लिने गरेका छन् ।

०७७ मा गोसाइँकुण्ड गाउँपालिका कार्यालय, वडा नम्बर ६ कार्यालय, मानेकोर सोसाइटी नेपाललगायत विभिन्न सङ्घ–संस्थाको लगानीमा निर्मित सो उद्यान चार वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शङ्खपार्क निर्माण सम्पन्न भई विधिवत् उद्घाटन भएपश्चात् सबैलाई खुला गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकले आफ्नो मोबाइल वा क्यामेराबाट तस्बिर खिच्ने, भिडियो बनाउने र टिकटक बनाई सामाजिक सञ्जालमा राख्न थालेका छन् । स्थानीय बौद्ध धर्मावलम्बीका अनुसार बोङ्झो डाँडा ठाडो रूपमा अडिएकाले उक्त स्थानलाई मानवबस्तीका निम्ति उपयुक्त ठानिएको थियो । सो बस्तीको नाम स्थानीय भाषामा धुङ्लाङ भनिन्छ जसबाट हालको धुन्चे नामकरण भएको मानिन्छ ।

विशेषतः आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने र शङ्खको इतिहासलाई जीवन्त राख्ने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले बताए । भावी पुस्तालाई शङ्खको महत्व बुझाउन शङ्खपार्क बनाइएको वडा नम्बर ६ का वडाध्यक्ष दावासिदार वाइवाले स्पष्ट गरे ।