
- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्ला गोसाइँकुण्ड-६ बोकेझुन्डास्थित सीता गुफा संरक्षण तथा उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । काठमाडौंबाट एक सय १३ किलोमिटर र सदरमुकाम धुन्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको उक्त गुफामा परापूर्वकालमा ‘सीता’ नाम गरेकी आनीले ध्यान गरेर बसेको हुनाले सो नाम रहेको शिक्षक रामग्याल्बो घलेले बताए । उनका अनुसार पासाङल्हामु राजमार्ग बन्नुभन्दा पहिले सोही गुफा भएर हिँडिन्थ्यो । उक्त बाटो भएर व्यापारी भोटबाट नुन साट्न काठमाडौं पुग्थे र फर्कन्थे । सो बाटो भएर राजा वीरेन्द्रले पनि धेरैपटक हिँडडुल गरे । तामाङ भाषामा साङ्तोर्माे भनिने सो गुफामा दुई भिक्षुणी तपस्या गरेर बस्दा सीता नामकी आनी पनि बस्न आएको भनाइ छ । आनी सीता लामा धर्म ग्रन्थको अनुशरण र शान्तिका लागि त्यहाँ आएको बताइन्छ ।
प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा गोर्खाली सेना गोसाइँकुण्ड जान लाग्दा श्री ३ ले सेनालाई भनेछन्, ‘यो बाटो हिँड्दै जाँदा बाटामा जे भेटिन्छ, त्यही ल्याउनू ।’ यहाँ करिब पाँच सय वर्ष पुरानो रुख पनि छ । भिमली गाउँको छेउको सो रुख ०७६ असार ६ मा आफैँ ढल्यो । त्यतिखेर बाटामा जाँदै गर्दा बाघ भेटेपछि त्यसलाई रुखमा झुन्ड्याइदिएकाले सो ठाउँको नाम बाघझुन्डा रहेको र पछि अपभ्रंश भई बोकेझुन्डा भएको जनकथन छ ।
तामाङ जातिको बसोवास रहेको सो ठाउँसम्म आइपुग्न १९ कोस लाग्ने भनी उल्लिखित शिलालेख अहिले पनि छ । पासाङल्हामु राजमार्ग बनेपछि गोरेटो बाटोबाट अहिले कोही हिँडडुल गर्दैनन् । घलेका अनुसार सीता गुफाभित्र गई सरसफाइ गर्ने र झाडी फाँड्ने योजना छ ।
०७२ को गोरखा भूकम्पले धेरै ठाउँमा तहसनहस भयो, बोकेझुन्डाका पुराना शैलीका घर भत्किए । मानिस गाउँ छाडेर राजमार्गछेउछाउमा सरेका छन् । गुफाभित्र ढलान गरेको जस्तै चिल्लो ढुङ्गा छ जसमा तिब्बती अक्षर लेखिएको छ । सो ठाउँमा सोमबार र बिहीबार भोटेकुकुर कराउने गरेको जनविश्वास छ । विशाल पहाड रहेको ढुङ्गाबाट बनेको गुफामा रिम्पोछेको शक्ति भएकाले संरक्षण गरेर राख्नुपर्ने मानिसहरू बताउँछन् । जङ्गलका बीचमा रहेको सो ठाउँमा रहेको गुफाभित्र उति बेला प्रयोग भएको सामान, पुस्तकलगायत थुपै्र चिज देख्न सकिन्छ ।
तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य लायुल तामाङको यस गाउँका मानिस प्रायः कृषिकर्म, बाख्रापालन, माछापालन गर्छन् । ‘यहाँ होमस्टेको पनि सम्भावना छ,’ स्थानीयवासी शिक्षक रामग्याल्बोले भने ।