विदुर, नेपाल शान्ति एवम् विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ले बालबालिकालाई शङ्ख वाद्य तालिम दिने भएको छ । १०६.८ मेगाहर्जको सो रेडियोले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव तथा रेडियोका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए । आठदेखि १५ वर्ष उमेरका विभिन्न विद्यालयका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।
रेडियोको साधारणसभा साउन १२ गते हुँदै छ । समापन समारोहमा उत्कृष्ट १० प्रशिक्षार्थीलाई शङ्ख उपहार पनि दिइने रेडियाकी सहयोगी गीता न्यौपानेले बताइन् । जिल्लाका बट्टार र देवीघाटमा बिहान र साँझ दिइने तालिमका प्रशिक्षार्थीमा शङ्खविद् मनोज सुवेदी रहनेछन् । सो रेडियोले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्ख बजाउने प्रतियोगिता आयोजना गरेको थियो । ‘पछिल्लो पुस्तामा वैदिक ध्वनि उपकरण शङ्खको महत्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो,’ स्टेसन म्यानेजर अधिकारीले स्पष्ट पारे ।