७ सय १० ले सैन्य आधार तालिम पूरा गरे

  • त्रिशूली प्रवाह
  • २९ असार २०८१, शुक्रबार १२:५८

विदुर, नेपाली सेनाको तालिम केन्द्रमध्येकै सबैभन्दा पुरानो र ठूलो श्री नं.१ सैन्य तालिम केन्द्र मैथली क्याम्प, त्रिशूली ब्यारेकमा सञ्चालित सैन्य आधार तालिम असार २६ गते बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बलाधिकृतरथि अशोकराज सिग्देलले अन्तिम दलले कवाजको सलामीको ग्रहण तथा निरीक्षण गरी तालिम समापन गर्नुभएको थियो । ९ महिनाको कठोर परिश्रम, लगनशिलता र मिहेनत पश्चात् गौरवमय इतिहास बोकेको राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा स्वच्छ छबि बनाएको नेपाली सेना जस्तो गरिमामय संस्थाको सिपाही दर्जामा नियुक्त हुनुभएकोमा तालिमे सिपाहीलाई उहाँले हार्दिक बधाई दिंदै आउँदा दिनमा सफल सैनिक जीवनको शुभकामना दिनुभएको थियो । तालिम केन्द्रमा गत २०८० भाद्र ३ गतेबाट सञ्चालन भएको सि.सं.७९ सैन्य आधार तालिमको २०८१ असार २६ गते अन्तिम दलले कवाजको सलामीको ग्रहण तथा निरीक्षण गरी उक्त तालिम समापन भएको हो । ९ महिना अवधिको उक्त तालिममा पुरूष ५ सय १३ र महिला १ सय ९७ गरी जम्मा ७ सय १० जनाले सफलतापूर्वक तालिम सम्पन्न गरेको केन्द्रपति प्रमुख सेनानी सोबितबहादुर चन्दले जानकारी दिनुभयो ।

सैन्य आधार तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षक अधिकृत, पदिक तथा बिल्लादारहरू र यस केन्द्रका केन्द्रपतिलगायत सम्पूर्ण सकलदर्जालाई प्रमुख अतिथि बलाधिकृतरथि सिग्देलले धन्यवाद समेत दिनुभएको छ । सो अवसरमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख एवं जिल्लाका उद्योगी, व्यवसायी र सैन्यका अभिभावकको उपस्थिती रहेको थियो ।