विदुर, नुवाकोटको समग्र वस्तुस्थिति झल्कने पुस्तिका जिल्ला समन्वय समिति नुवाकोटले गत महिना सार्वजनिक गरेको छ । विगतमा जिल्लाका विभिन्न कार्यालयले वस्तुगत विवरण तयार गर्ने गरे पनि ०७२ सालमा देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गई राज्य पुनर्संरचनापछि तीन तहका सरकार कायम भएपछि सोहीअनुसार ‘जिल्ला वस्तुगत विवरण, नुवाकोट २०८१’ तयार पारी प्रकाशन भएको पहिलो पुस्तिका जिल्ला समन्वय समिति (जिसस) कार्यालयले सार्वजनिक गरेको हो ।
समन्वय समितिको कार्यालयले तथ्याङ्क कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय कृषि गणना २०७८, आर्थिक गणना २०७५ तथा स्थानीय तह र विषयगत कार्यालयका सहयोगमा प्राप्त तथ्याङ्कलाई समेटेर जिल्लाको ‘वस्तुगत विवरण नुवाकोट २०८१’ पुस्तिका प्रकाशन गरेको छ । तीन सय एक पृष्ठको पुस्तिकाले जिल्लाका स्थानीय एवम् सङ्घीय तथा प्रादेशिक विषयगत कार्यालयलाई भावी नीति तथा योजना तर्जुमा गर्न र जिल्लाबारे जान्न, बुझ्न तथा पढ्न सहयोग पु¥याउने समन्वय अधिकारी शान्तिराज प्रसाईंले बताए । ‘नेपालको संविधान’ले जिससलाई समग्र विकास निर्माण र सेवा प्रवाहको अनुगमन, समन्वय र सहजीकरणका साथै जिल्लाका सबै क्षेत्र, वर्ग र समुदायको सन्तुलित विकासको अनुगमन गर्ने जिम्मेवारी दिएको छ । पुस्तिका सार्वजनिक कार्यक्रममा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नुवाकोट क्षेत्र नम्बर १ बाट सङ्घीय संसद्का सदस्य हितबहादुर तामाङले पुस्तिका समष्टिगत रूपमा जिल्लाको जनसङ्ख्या तथा राजनीतिक, भौगोलिक, सांस्कृतिक र विकास निर्माण तथा सेवाको वर्तमान अवस्थाबारे जानकारी लिन सबैका लागि महत्वपूर्ण दस्ताबेज हुने विश्वास व्यक्त गरे ।