राष्ट्रिय पुरस्कार प्राप्त गर्नेमा नुवाकोटे पनि

साहित्यकार फुयाँल संस्कृति मन्त्रालयबाट सम्मानित

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०८१, बुधबार १६:१४

काठमाडौं, साहित्यकार श्रीहरि फुयाँल महाकवि देवकोटा पुरस्कार, २०८० बाट सम्मानित भएका छन् । नेपाली भाषा–साहित्यमा उत्कृष्ट योगदान पु¥याएबापत उनलाई सरकारले रु. एक लाख राशिको महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गत बिहीबार आयोजित कार्यक्रममा तत्कालीन मन्त्री हितबहादुर तामाङले ६६ वर्षीय फुयाँललाई सम्मान गरेका हुन् । नुवाकोटबाट उदाएका साहित्यकार फुयाँल अहिले राष्ट्रियस्तरमा चम्किलो ताराका रूपमा परिचित छन् । नुवाकोट, ककनी–१, जलुकिनी, ओखरपौवामा जन्मिएका फुयाँल १० वर्षका उमेरदेखि नै साहित्य तथा लेखन क्षेत्रमा सक्रिय छन् । बाल्यकालमा चुलबुले फुयाँल लेख्न–पढ्नमा पनि उत्तिकै मन लगाउँथे । ०२४ मङ्सिरमा ‘आमा’ शीर्षक कविता लेखेर सबैलाई सुनाउँदा हौसला पाएपछि आफूलाई पनि साहित्य रचना लेख्न सक्छु भन्ने आत्मविश्वास बढेको फुयाँल बताउँछन् । विद्यालयस्तरमा हुने हरेक साहित्यिक प्रतियोगितामा उनको सक्रिय सहभागिता रहन्थ्यो । पहिलो प्रतियोगितामा नै फुयाँल प्रथम भए । उनी हरेक प्रतियोगितामा प्रायः प्रथम नै हुन्थे । प्रतिस्पर्धासँग हार्न नजानेका उनले हालसम्म ३८ वटा राष्ट्रियस्तरका साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

उनका हालसम्म २२ कृति प्रकाशनमा आइसकेका छन् जसमा तीन महाकाव्य छन् । सबैभन्दा धेरै साहित्यिक कृति लेख्ने र सम्मान प्राप्त गर्नेमा नुवाकोटमा फुयाँल नै पहिलो भएको बताइन्छ । ०२९ असोजमा ‘नयाँ युग’ नामक साप्ताहिक पत्रिकामा प्रकाशित ‘किसान’ शीर्षक फुटकर कविता नै फुयाँलको पहिलो प्रकाशित रचना हो । त्यसपछि उनले ०३२ मा आफ्नो दोस्रो कृति ‘आत्मज्वाला’ शीर्षक लघुकाव्य बजारमा ल्याए । त्यसयता उनले थुप्रै कविता, महाकाव्य, खण्डकाव्य, मुक्तक, हाइकु, निबन्ध, उपन्यासलगायत सङ्ग्रह बजारमा ल्याइसकेका छन् । तिनमा ‘भूल कि फूल ?’ उपन्यास, ‘आँसुको सङ्ग्राम’ महाकाव्य, ‘अन्तरका सुसेलीहरू’ र ‘अदृश्य घाउ’ कवितासङ्ग्रह, ‘भावनाका भुल्का’ मुक्तकसङ्ग्रह, ‘अमर सहिद : राजन रायमाझी’ खण्डकाव्य, ‘मनका छाल’ हाइकुसङ्ग्रहलगायत छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतद्वारा ०३८ माघ १६ गते सहिद सप्ताहका उपलक्ष्यमा आयोजित प्रतियोगितात्मक ‘राष्ट्रिय कविता महोत्सव’मा उनको ‘मेरो मुटु फुटिदिन्छ’ नामक कविताले द्वितीय पुरस्कार प्राप्त गरेको थियो । उनलाई तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सो पुरस्कार प्रदान गरेका थिए । बहुआयामिक व्यक्तित्वका रूपमा रहेका फुयाँललाई तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले ०७५ असार ८ गते अभिनन्दनसमेत गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण फुयाँल अहिले आफ्नो आत्मजीवनी लेखिरहेका छन् । ‘सुरु–सुरुमा रहरले लेखियो । यो त नशा जस्तै रहेछ । पछि लेख्ने लत नै बस्यो । अहिले बजारबाट नै माग हुन्छ । लेख्न कर लाग्छ,’ उनले भने । उनी आफैँले लेखेको कृतिमध्ये ‘आमाको सम्झना’ शीर्षक शोककाव्यले सबैभन्दा मन छोएको बताउँछन् । ६१ वर्षको उमेरमा नै आमाको निधन भएपछि उनका सम्झनामा लेखिएको उक्त कृति लेख्दा कैयौँपटक भावुक बनेको उनी सम्झन्छन् । ‘मेरा सबै कृति उति नै प्यारो लाग्छ, तर भावना पनि जोडिएको भएर होला, ‘आमाको सम्झना’ शोककाव्य अझै मर्मस्पर्शी लाग्छ,’ उनले भने ।