काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकारमा नुवाकोटका विष्णुप्रसाद रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले गत हप्ता उनीहरूलाई नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमाले उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उक्त भूमिकामा थिए । रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामको व्यवस्थापन गर्दै आएका छन् । ०६४ को पहिलो संविधानसभासद् रहेका रिमाल पार्टीको नवौँ महाधिवेशनमा ओलीकै पक्षबाट सचिव पदका उम्मेदवार थिए । ओली अध्यक्षमा निर्वाचित भए पनि उनी सचिवमा पराजित हुन पुगेका थिए । तर, उनी पोलिटब्युरो सदस्यका रूपमा पार्टीमा क्रियाशील थिए । ०७४ को चुनावपछि बनेको ओली नेतृत्वको सरकारमा पनि विदुर-१२ चारघरे, गौरीबेँसीका रिमाल प्रमुख रोजाइमा परेका थिए । सरकारबाट बाहिरिएपछि पनि उनले ओलीलाई सबै राजनीतिक काममा सहयोग गर्दै आइरहेका छन् । पार्टीको दसौँ महाधिवेशनमा उनी उपमहासचिव चयन भएका थिए ।
गृहजिल्ला नुवाकोट कमै मात्र आउने रिमाललाई एमाले नुवाकोटले अभिभावक मानी आगामी ०८४ को निर्वाचनमा सङ्घीय क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन चाहेको छ । ओलीनिकट रहेर एमालेको आर्थिक नीति बनाउँदै आएका झापाका डा. खतिवडा ओलीको ०७४ सालको कार्यकालमा विनासांसद अर्थमन्त्री थिए । सांसद नभएका व्यक्ति ६ महिना मात्र मन्त्री हुन पाउने भएकाले उनी अर्थमन्त्रीबाट हटे र अमेरिकाका लागि राजदूत नियुक्त भए । डा. खतिवडा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । दुवैले मन्त्रीसरहको सेवासुविधा पाउनेछन् ।