धुन्चे । रसुवाको प्रमुख धार्मिक तीर्थस्थलमध्येको सबैभन्दा ठूलो गोसाइँकुण्डमा यही साउन २१ गतेदेखि भदौ ३ गतेसम्म जनैपूर्णिमा मेला लाग्ने भएको छ । खासगरी वर्षको दुईपटक जेठको गङ्गा दशहरा र ऋणितर्पणी मेला लाग्ने गोसाइँकुण्ड आजभोलि सबै यामको पर्यटन गन्तव्य बनेको छ ।
साबिकको स्याफ्रु-५ र हालको गोसाइँकुण्ड-५ स्थित गोसाइँथान सन् २००७ सेप्टेम्बर २३ मा रामसार सूचीमा सूचीकृत भएको र यसका वरपर भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्डलगायत एक सय आठ कुण्ड छन् । धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको यस क्षेत्रमा साउनमा उल्लेखनीय भक्तजन आउने गर्छन् । साउनलाई शिव भगवान्को प्रिय महिनाका रूपमा लिने गरिन्छ । वर्षका चार (जेठ, असार, साउन र भदौ) महिना शिवसँगै सबै देवीदेवता गोसाइँकुण्डमा जम्मा हुने धार्मिक विश्वास छ । चार हजार ३८० मिटर उचाइमा रहेको सो क्षेत्र मानवरहित छ । काठमाडौँबाट सदरमुकाम धुन्चेसम्म पक्की सडकमार्ग छ भने धुन्चेबाट गोसाइँँकुण्ड स्थानीयवासी एक दिनको पैदलयात्रामा पुग्छन् । धुन्चेबाट घट्टेखोलासम्म ६ किलोमिटर तेर्साे बाटो र घट्टेखोलाबाट प्रायः ठाडो उकालो छ ।
पुराणअनुसार समुद्र मन्थन गर्दा निस्केको कालकूट विष पिएपछि शङ्करले त्यसको डाह सहन नसकी शीतलता पाउन उत्तरापन्थ लागेको र बेत्रावतीमा आउँदा बेतका लौराले पहरामा प्रहार गर्दै निस्केको पानी पिएका थिए । त्यसबाट पनि शान्त हुन नसकी उनी अझै उत्तर लागेर नीलाद्री पर्वतमा पुग्दा त्रिशूल रोपी निस्केको पानी पिएका थिए । पहराबाट निस्केको पानीले नीलखेत भरिई दह बनेको र भोलानाथ त्यहीँ डङ्गरङ्ग पल्टेको धार्मिक विश्वास छ । धर्मात्माहरू शिवलाई गोसाइँकुण्डमा शयन गरिरहेका अवस्थामा देख्न सक्छन् भन्ने पनि विश्वास छ । भक्तजन यही साउनको सुरुदेखि नै गोसाइँकुण्डमा आइरहेका छन् ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले मेलाका लागि पदमार्ग मर्मत, सरसफाइसँगै होटेल र अस्थायी वास बस्न छाप्रो निर्माण भई सञ्चालनमा रहेको ‘त्रिशूली प्रवाह’लाई बताए । मेला अवधिभर स्वास्थ्य जाँचका लागि ठाउँ-ठाउँमा उपचार केन्द्रका साथै शान्तिसुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोली जिल्ला सुरक्षा समितिले आवश्यकताअनुसार खटाउने तयारी गरेको जनाइएको छ । कुण्डको वरपर सुविधायुक्त होटेलमा टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधा छ । मेला व्यवस्थित र सुरक्षित बनाउन विभिन्न समिति/उपसमिति बनाई परिचालन गर्ने गरिएको छ । यात्रुको सहजताका लागि हरेक होटेल र अस्थायी खाजा, चियाघर र वास बस्ने छाप्रो (थर्पु)मा मूल्यसूची राखिएको छ ।
यस क्षेत्रमा यात्रा गर्ने सबैलाई रुखबिरुवा नकाट्न, जङ्गली जीवजन्तु मार्न–जिस्क्याउन–आफूले लगेका खानेकुरा खान नदिन लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत मिलन सापकोटाले आग्रह गरेका छन् । गोसाइँकुण्ड जाने बाटो पहिलेभन्दा अहिले सहज रहे पनि बर्खामा सतर्क भएर हिँड्नु आवश्यक छ । यात्रा अवधिमा केही अप्ठ्यारो परे बीचबीचमा सुरक्षा निकायको गस्ती हुने र स्वास्थ्यकर्मीसमेत रहने समितिका अध्यक्ष डिएमले बताए । गोसाइँकुण्ड राष्ट्रिय विभूति अमरसिंह थापाले देहत्याग गरेको ठाउँ पनि हो । कुण्डको दर्शन गर्न हिन्दु र बौद्ध धर्मका अनुयायीको बढी भिड लाग्ने गर्छ । ६ हजार २५ मिटर लम्बाइ, ३०२ मिटर चौडाइ भई १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको कुण्डमा १४ लाख दुई हजार घनमिटर पानी रहेको अनुमान गरिएको छ ।
गोसाइँकुण्डको दर्शन गरेर मात्र केही नेपाली र भारतीय कैलाश पर्वत पुग्ने गरेको बताइन्छ । हिन्दुका लागि महत्वपूर्ण तीर्थस्थल गोसाइँकुण्डको प्रचारप्रसार गर्न भारतका धार्मिक गुरु, राष्ट्रप्रमुख, प्रधानमन्त्री, कलाकार ल्याउन सकेमा तथा धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार बनाउन पाएमा रसुवालाई पर्यटनबाटै समृद्ध बनाउन सकिने रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । कुण्डको दर्शन गर्न जाने नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीसँग जोडेर प्रचारप्रसार गर्न यस क्षेत्रका सरोकार निकायको ध्यान जानुपर्ने उनको सुझाव छ ।