विदुर । नुवाकोटको विदुर–१ स्थित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको दोस्रो वर्षको दोस्रो खण्डको नतिजामा देशकै पहिलो बन्न सफल भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सञ्चालित परीक्षाको नतिजाअनुसार शिक्षालय पशु विज्ञानतर्फ पहिलो बन्न सफल भएको शिक्षालय प्रमुख कपिल पाण्डेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिए ।
नुवाकोट र रसुवा जिल्लाकै एक मात्र आङ्गिक (सरकारी) शिक्षालय सोे नतिजाले देशकै अब्बल प्रमाणित भएको उनको भनाइ छ । ‘सिक, कमाऊ र तिर’ भन्ने अवधारणासहित सञ्चालित शिक्षालयबाट २०७७ साल तीनवर्षे कोर्सको पहिलो ब्याच पशु विज्ञानतर्फ समूहले परीक्षा दिएका ३४ मध्ये २९ जना उत्तीर्ण भएकामध्ये दुईजना विशिष्ट श्रेणीमा छन् । सो समूहको उत्तीर्ण प्रतिशत ८५.३९ रहेको शिक्षालय प्रमुख पाण्डेले बताए । त्यसैगरी बाली विज्ञान समूहमा ३२ जनाले परीक्षा दिएकामा २८ जना उत्तीर्ण, त्यसमध्ये दुईजना विशिष्ट श्रेणीमा र उत्तीर्ण प्रतिशत ८७.५५ छ । पहिलो ब्याचको होटेल म्यानेजमेन्ट समूहमा १२ जनाले परीक्षा दिएकामा तीनजना विशिष्ट श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भएका छन् ।
यस्तै बाली विज्ञानतर्फ शिक्षालय बागमती प्रदेशकै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । पाण्डेले नयाँ शैक्षिक सत्रका लागि आवेदन फाराम भर्ने बेला भएकाले बाली विज्ञान, पशु विज्ञान र होटेल व्यवस्थापनतर्फ समयमै शिक्षालयमा जोडिएर सिट सुरक्षित गर्दै आफ्नो उच्च एवम् व्यावहारिक शिक्षा लिने उद्गमस्थल बनाउनका लागि अनुरोध गरेका छन् । उनले जम्मा रु. ६० हजारमै तीनवर्षे डिप्लोमा अध्ययन गर्न पाइनेसमेत बताए । ०७७ को पहिलो ब्याजदेखि सञ्चालनमा आएको शिक्षालयले हालसम्म झन्डै पाँच सयजनाको सीप परीक्षण गरिसकेको तथा एक सय विद्यार्थीलाई पासआउट गरिसकेको छ । हाल शिक्षालयमा २५० विद्यार्थी अध्ययनरत छन् ।