धुन्चे । विदेशी नागरिकता त्यागेर रसुवाका पुरुषसँग विवाह गर्ने महिलाको सङ्ख्या १७ वर्षमा २८ पुगेको छ । चीनसँग सिमाना जोडिएको जिल्लामा सबैभन्दा बढी विवाह गरी रसुवाका बुहारी बन्ने चिनियाँ महिलाको सङ्ख्या उल्लेख्य छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका अनुसार यस अवधिमा रसुवाली पुरुषसँग दर्ता विवाह गर्ने विदेशी महिला २८ छन् । ०६४ देखि ०८१ जेठ २८ गतेसम्म विदेशी महिलाले अङ्गीकृत नागरिकता प्रक्रिया पूरा गरेर लिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अधिकारीले बताइन् । विवाह गर्नेमा चीनको स्वशासित क्षेत्र तिब्बतका १७, भारतका १० र भुटानका एक छन् । गत आर्थिक वर्ष ०८०/८१ मा एक हजार दुई सयले नयाँ नागरिकता र दुई हजार दुई सयले प्रतिलिपि नागरिकता लिएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । जिल्लाका १८ हजार ४३६ जनाको राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिकसहितको विवरण सङ्कलन भई कार्ड आउने क्रममा रहेको कार्यालयले जनाएको छ ।