+
Search

ताजा अपडेट +

पपुलर +

भर नभएको रसुवागढी नाका

भर नभएको रसुवागढी नाका
त्रिशूली प्रवाह
१० महिना अगाडी

वर्षात् सुरु भएसँगै नेपाल–चीन जोड्ने सडकमार्ग अवरुद्ध हुँदा लक्ष्यभन्दा दुई सय प्रतिशतसम्म राजस्व सङ्कलन गरिरहेको रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा अवरोध हुने गरेको छ । पासाङल्हामु राजमार्गको त्रिशूलीदेखि कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी–रसुवागढी खण्डमा बर्खामा दैनिकजसो पहिरो गएर आवागमन तथा सामान ढुवानी ठप्प हुँदै आएको छ । गत हप्ता रसुवागढीदेखि बेत्रावतीसम्मको सडकमा पहिरोका कारण चीनबाट सामान ल्याइँदै गरेका १५० भन्दा बढी कन्टेनर रसुवागढीमै रोकिएका थिए । गत वर्ष मात्रै ठूलो बजेट खर्च गरी मर्मत गरिएको राजमार्गको माझगाउँ–बोगटीटार खण्डमा फेरि पहिरो गएको छ । अन्य क्षेत्रमा पनि पानी परेपछि पहिरो खस्ने गरेको छ । नेपाल र चीनबीच स्थलगत व्यापार हुने पूर्वाधारयुक्त एक मात्रै नाका हो, रसुवागढी । ०७२ मा गएको भूकम्पका कारण खासा बजार ध्वस्त भएपछि सिन्धुपाल्चोकको तातोपानी नाका करिबकरिब ठप्प छ । तातोपानी नाकाका तुलनामा भरपर्दो मानिएको रसुवागढी नाका पुग्ने सडकखण्डलाई पनि पहिराले दुःख दिने गरेको छ ।

नेपालको राजधानी काठमाडौँ र उत्तरी छिमेकी चीनबीच सडक यातायातमार्फत सीधै व्यापार हुन थालेको ६ दशक बिते पनि भरपर्दो हुन सकेको छैन । अहिले पनि दुई देशबीचको अधिकांश व्यापार भारतीय भूमिमार्फत हुने गरेको छ । लामो सिमाना जोडिएका दुई छिमेकीबीच तेस्रो देशको भूमि प्रयोग गरेर व्यापार गर्नुपर्ने बाध्यता जारी रहनु आफैँमा अचम्मलाग्दो छ । चीनको मुख्यभूमि र काठमाडौँ आजभन्दा ६० वर्षअघि कोदारी राजमार्गमार्फत जोडिए पनि यसबीचमा दुई देश जोड्ने सडक यातायातमा तात्विक अन्तर आउन सकेको छैन । नेपालको वैदेशिक व्यापारमा भारतपछि दोस्रो स्थान चीनको छ । वार्षिक करिब रु. तीन खर्बबराबरको वस्तु चीनबाट आयात हुन्छ, करिब रु. एक अर्बबराबरको वस्तु नेपालबाट चीन निर्यात हुन्छ । लामो दूरी पार गर्दै भारतको भूमि भएर चीनबाट सामान आयात गर्नुपर्दा ढुवानी भाडा महँगो हुने गरेको छ । यसैगरी भारतको बाटो गरी नेपाली वस्तु चीन निर्यात गर्न असम्भव हुँदै गएको छ । जुन बेला सडक यातायातमार्फत सीधै चिनियाँ सामान नेपाल आउँथ्यो, त्यसबेला नेपालका दक्षिणतर्फका सीमावर्ती बजार गुल्जार थिए । चिनियाँ सामान सस्तोमा पाइने भएकाले भारतीय ग्राहकको भिड लाग्ने गथ्र्यो । तर, पछिल्ला वर्षमा चिनियाँ सामानसमेत नेपालमा भन्दा भारतमा सस्तो हुन थालेका छन् ।

नेपाली ग्राहक चिनियाँ सामान किन्न भारत जान थालेका छन् । नेपाल–चीनबीच भरपर्दो सडक यातायात नहुँदा नेपालले ठूलो आर्थिक अवसर गुुमाइरहेको छ । नेपाल र चीनलाई भरपर्दा सडक सञ्जालले मात्रै होइन, रेलमार्गले समेत जोड्ने विषयमा धेरैपटक सम्झौता भइसकेका छन् । धेरै नाका जोड्ने गरी सडक निर्माणाधीन छन् । तर, नाका जोड्ने सडक निर्माणको काम वीरबलको खिचडीजस्तो बनेको छ । रेलमार्ग निर्माणको कुरा त बिआरआई प्रकरणमा अल्झेको छ । नेपाल र चीनबीच बिआरआईमा हस्ताक्षर भएको सात वर्ष भइसकेको छ, तर यसअन्तर्गतका परियोजना निर्माणका लागि सम्झौता हुन सकिरहेको छैन । यसमा किन भन्ने प्रश्नको उत्तर रहस्यमय छ । सतहमा हेर्दा लगानीको मामिलामा कुरा अड्किएको देखिन्छ । रसुवागढीबाट काठमाडौँसम्म प्रस्ताव गरिएको ८० किलोमिटर लामो रेलमार्ग निर्माणको मोटामोटी लागत अनुमान करिब रु.१५ खर्ब गरिएको छ । यति ठूलो लगानी गर्ने आर्थिक हैसियत नेपालको छैन । त्यसैले ऋण दिन चीन तयार छ, तर ऋणको ब्याज तिर्न पुग्ने गरी रेलमार्गले प्रतिफल दिन सक्छ भन्नेमा नेपालका अर्थशास्त्री विश्वस्त छैनन् । सके अनुदान, नभए पनि निब्र्याजी ऋणको आशामा नेपाल छ ।

नेपालले यो परियोजनाको दीर्घकालीन आर्थिक पाटो तथा रणनीतिक महत्वलाई विश्लेषण गरेर तत्कालै स्थलमार्गको स्तरोन्नतिमा ध्यान दिनुपर्छ । रेल परियोजना बन्नलाई वर्षाैँ र अर्बौँ बजेट लाग्ने भएकाले तत्काल स्थलमार्ग सञ्चालन व्यवस्थित र भरपर्दो गरी नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारतीय भूमि प्रयोग गर्नैपर्ने बाध्यता हटाउन सरकार लाग्नुपर्छ । यसले नेपालको सार्वभौमिकतालाई टेवा पुग्छ । दोस्रो, नेपाली वस्तुको चीन निर्यात बढ्छ । तेस्रो, चिनियाँ सामान ज्यादै कम ढुवानी लागतमा नेपाल आउने भएकाले तराईका बजारमा भारतीय ग्राहकको भिड लाग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह