Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

१३ जिल्ला, १४ मन्त्री : पाँच जिल्ला शून्य, उपत्यकाबाट नौ क्याबिनेटमा दलित खाली, जनजातिको बाहुल्य

१३ जिल्ला, १४ मन्त्री : पाँच जिल्ला शून्य, उपत्यकाबाट नौ क्याबिनेटमा दलित खाली, जनजातिको बाहुल्य
त्रिशूली प्रवाह
१ साल अगाडी

हेटौँडा । संघीय राजधानी रहेको बागमती प्रदेश सरकार दुई चरणमा विस्तार भएको छ । गत बुधबार र शनिबार विस्तार भएको प्रदेशको मन्त्रिपरिषद्मा १४ मन्त्री नियुक्त भएका छन् । मन्त्रिमण्डललाई पूर्णता दिएका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले एक बिनाविभागीयसहित १३ मन्त्रीलाई जिम्मेवारी दिइसकेका छन् । १३ जिल्ला रहेको प्रदेशमा १४ जना मन्त्री नियुक्त हुँदा पनि रसुवा, मकवानपुर, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक मन्त्रीविहीन हुन पुगेका छन् ।

नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै सातै प्रदेशमा सरकार परिवर्तन भएको छ । बागमतीमा गत मंगलबार नुवाकोट, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा क्षेत्र (१) बाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा तामाङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेसका संसदीय दलका नेतासमेत रहेका तामाङले गत बुधबार सत्तासाझेदार दल एमालेसँग सहमति गरेर दुई चरण गरी शनिबार जनजातिको बाहुल्य रहेको क्याबिनेटलाई पूर्णता दिए पनि केन्द्रमा झैँ दलितको उपस्थिति शून्य छ । एमालेबाट प्रकाश श्रेष्ठ, कृष्णप्रसाद सिलवाल, अमककुमार मास्के, सुकमाया तामाङ, प्रेमभक्त महर्जन र किरण थापा तथा काङ्ग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, विमल ठकुरी, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र मधुकुमार श्रेष्ठ मन्त्री बनेका छन् । मन्त्री बनेकामध्ये मधुकुमारको मात्र जिम्मेवारी तोकिएको छैन । एमालेका प्रकाशलाई कृषि तथा पशुपन्छी विकास र मास्केलाई भौतिक पूर्वाधार विकास, सिलवाललाई वन तथा वातावरण, तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, थापालाई स्वास्थ्य र प्रेमभक्तलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

काङ्ग्रेसका काफ्लेले आर्थिक मामिला तथा योजना, खड्गी सामाजिक विकास, लामिछानेले आन्तरिक मामिला तथा कानुन र खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मीनकृष्णले युवा तथा खेलकुद र ठकुरीले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । यही साउन ८ गते मुख्यमन्त्री नियुक्त तामाङले साउन ९ गते नौ र १२ गते चारजनालाई सरकारमा सहभागी गराएका हुन् । एक बिनाविभागीयसहित सरकारमा काङ्ग्रेसका आठ र एमालेका ६ मन्त्री सहभागी भएका छन् । सत्तारूढ काङ्ग्रेस र एमालेबीच भागबन्डा नमिलेपछि मन्त्रीको सङ्ख्या नै बढाएर मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिएका हुन् । सङ्घीय मन्त्रिपरिषद्मा दलितको उपस्थिति नरहेको भनेर भएको आलोचनालाई ख्याल नगरेको बागमती प्रदेश सरकारले भूगोलमा पनि कम ख्याल गरेको छ । काठमाडौँ उपत्यकाबाट मात्रै नौ मन्त्री तामाङ क्याबिनेटमा छन् । सात जिल्लाका सांसदले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुरसहित रसुवा, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकले एक मन्त्री पनि पाएनन् ।

काठमाडौँबाट ६ जना मन्त्री भएका छन् । ललितपुरबाट दुई र भक्तपुरबाट एकजना मन्त्री बनेका छन् । काठमाडौँबाट एमालेका प्रकाश र मास्के तथा काङ्ग्रेसबाट खड्का, खड्गी, लामिछाने र ठकुरी मन्त्री बनेका छन् । ललितपुरबाट एमालेका प्रेमभक्त र काङ्ग्रेसका मीनकृष्ण बन्दा भक्तपुरबाट एमालेका थापा मन्त्री भएका छन् । काङ्ग्रेसबाट दोलखाका काफ्ले र धादिङका मधुकुमार मन्त्री बन्दा एमालेबाट सिन्धुलीकी तामाङ र चितवनका सिलवाल मन्त्री भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह