नुवाकोट–धादिङसहित ६६ जिल्लामा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

  • त्रिशूली प्रवाह
  • २१ श्रावण २०८१, सोमबार १५:४९

काठमाडौंँ । विसं २०७६ देखि सुरू भएको राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई सेवासँग आबद्धता गर्न नसक्दा ६ वर्षसम्म उपयोगहीन भएपछि सरकारले सामाजिक सुरक्षा भत्ता लिन आगामी माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता लिन साउन १ देखि परिचयपत्र अनिवार्य चाहिने यसअघिको निर्णयलाई संशोधन गर्दै त्यसलाई बढाएर आगामी माघ १ देखि लागु गर्न लागिएको हो ।

विभागले निर्णय कार्यान्वयनका लागि नुवाकोट र धादिङसहित ६६ जिल्लाका सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेर सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रूजु गर्नुपर्ने जनाएको छ । परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाहरूले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रूजु गर्नुपर्नेछ । नं नभएमा भने सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि तस्बिर खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नं हराएको स्वघोषणा गर्नुपर्छ । विभागका अनुसार स्थानीय अधिकारीलाई झुक्याएर परिचयपत्र नं भएर पनि छैन भनी दोहोरो सुविधा लिन सक्ने सम्भावना भएकाले स्वघोषणालाई अनिवार्य गरिएको हो ।

विभागका महानिर्देशक युवराज कट्टेलका अनुसार सुरूमा साउनदेखि अनिवार्य लागु गर्न खोजिएको पहिलो चरणमा २८ र दोस्रो चरणमा माघदेखि लागु गर्न खोजिएको ३८ जिल्लाका स्थानीय तहलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराइएको छ । मन्त्रिपरिषद्ले गत जेठ २४ मा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि साउन १ देखि अनिवार्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परिचयपत्र बनाउन अत्यन्त कम समय दिएको भन्दै सरकारको उक्त निर्णयको चर्को आलोचना भएपछि सरकारले गत जेठ २७ मा प तत्काल अनिवार्य नगर्ने निर्णय गरेको थियो । तत्काल रोकिए पनि अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था भएकाले पुस मसान्तसम्मको म्याद दिएर पत्राचार गरिएको महानिर्देशक कट्टेलले बताए ।

विभागका अनुसार एक करोड ५१ लाख ७९ हजार पाँच सय १५ जनाको परिचयपत्र विवरण सङ्कलन भइसकेको छ । सतहत्तर जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र केही स्थानीय तहबाट नियमित विवरण सङ्कलन भइरहेको छ । सतचालिस लाखभन्दा बढी परिचयपत्र वितरण भइसकेको जनाइएको छ । विभागका अनुसार आगामी पुसअघि सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्ने वा नयाँ दर्ता गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नलिएको वा त्यसको नं नपाएको स्वघोषणा सम्बन्धित व्यक्ति आफैंँले गर्नुपर्नेछ । विभागले परिचयपत्र प्राप्त गरिसकेकाका हकमा भने बायोमेट्रिक रूजु गर्ने क्रममा कुनै समस्या भएमा पुस मसान्तभित्र उपलब्ध गराउने गरी भत्ता कार्ड नवीकरण गर्न सकिने जनाएको छ । सामाजिक सुरक्षा भत्ता लिन सम्बन्धित स्थानीय तहमा भदौ मसान्तभित्र कार्ड नवीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । परिचयपत्रबिना नै नवीकरण गरेकाहरूले पुस मसान्तभित्र अनिवार्य रूपमा परिचयपत्र वा त्यसको नं प्राप्त गरी सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा बायोमेट्रिक रूजु गराउनुपर्नेछ ।

गत असार १० मा नै राजपत्रमा सूचना प्रकाशन गरेर सो प्रणाली लागु गर्दै जाने सरकारले निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनानुसार तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा परिचयपत्र लागु गर्ने भनिएको छ । नुवाकोट र धादिङ दोस्रो चरण तथा रसुवा तेस्रो चरणमा परेका छन् । परिचयपत्रको सफ्टवेयर खरिद र छपाइ, कर्मचारी परिचालन, यन्त्र खरिदलगायत काममा झन्डै रु पाँच अर्ब खर्च भइसकेको छ । परिचयपत्रका नाममा बर्सेनि ठुलो रकम खर्च भए पनि लागु गर्न नसकेका अवस्थामा अहिले राजपत्रमा सूचना नै प्रकाशन गरेर अनिवार्य गर्न खोजिएको विभागले जनाएको छ ।