बट्टार । अधिकांश सहकारीले कार्यक्षेत्र मिचेर बचत सङ्कलन र ऋण लगानी गरिरहेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्ने सुझाव सहकारीकर्मीले दिएका छन् । सहकारी सङ्घ–संस्थाको समस्याप्रति नुवाकोट नागरिक समाजले चासो राखेर शनिबार विदुर–४ बट्टारमा सरोकारवालाको उपस्थितिमा गरेको बृहत् अन्तक्रियामा सहभागीले नियमन गर्ने निकायकै कारण सहकारी धराशायी भएको विचार राखेका थिए ।
अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको सहकारीमा पछिल्लो समय आएको समस्या समाधानको उपाय खोज्ने उद्देश्यले गरिएको अन्तक्रियाका उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहकारीले भोगिरहेको अहिलेको समस्या सहकारीकै कारणले आएको बताए । उनले सहकारीको मूल्यमान्यतालाई आत्मसात् गरेर सञ्चालनमा रहेका सहकारीमा अहिले पनि समस्या नरहेको जिकिर गरे ।
नागरिक समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले जिल्लाका अधिकांश साना–ठुला सहकारी समस्याग्रस्त रहेको बताए । कार्यक्रममा विदुर र बेलकोटगढी नगरभित्रका बचत तथा ऋण, कृषि र बहुउद्देश्यीय सहकारीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको समाजका उपाध्यक्ष बसन्त रिजालले बताए । राष्ट्रिय सहकारी प्रशिक्षक राजकुमार आचार्यले सहजीकरण गरेको सो कार्यक्रममा विदुर–४ बट्टारका गणेश राईले सहकारीमा राखिएको बचत फिर्ता नपाएको गुनासो गर्दै सहजीकरणका लागि आग्रह गरेका थिए जिल्लामा झण्डै तिन सय सहकारी संस्था छन् ।