- सरस्वती न्यौपाने
धुन्चे । रसुवा जिल्लामा रहेका प्रकृतिनिर्मित धार्मिक महत्वका एक सय आठ कुण्डमध्ये पार्वतीकुण्डमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्ता विशेष मेला लाग्ने भएको छ । आगामी भदौ ३ गते पर्ने जनैपूर्णिमाको सात दिनअघिदेखि मेला सुरु हुनेछ । धार्मिक पर्यटकीय क्षेत्र ‘आमाछोदिङ्मो’मा यस वर्ष ऋषितर्पणीका अवसरमा लाग्ने विशेष मेलाका लागि गाउँपालिकासँग समन्वय गरेर खान, बस्न र दर्शन गर्नका लागि सहज बनाइने पार्वतीकुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङले जानकारी दिए ।
०३२/३३ तिर स्याफ्रुबेँसी–सोमदाङ सडक निर्माण गरिरहेको नेपाली सेनाको सहयोगमा स्थानीयवासीले ‘पानी जमेको ताल’लाई नयाँ रूप दिएका थिए । समुद्री सतहदेखि दुई हजार ६ सय ९० मिटरको उचाइ, १३ मिटर गहिराइ र तीन हेक्टरमा फैलिएको कुण्डको पुरानो नामबाट पछिल्लो समय राज्य पुनर्संरचनानुसार गाउँपालिकाको नाम आमाछोदिङ्मो राखिएको छ । साबिक गत्लाङ गाविस हाल आमाछोदिङ्मो-३ मा पर्ने सो कुण्डमा शिवकी अर्धाङ्गिनी माता पार्वती महिनावारी हुँदा गोसाइँकुण्डबाट छेलिएर रहन निर्माण गरिएको किंवदन्ती रहेको पालिका उपप्रमुख चण्डिका तामाङले बताइन् । रसुवाको चर्चित पर्यटकीय गाउँ गत्लाङबाट हिँडेर एक घण्टा र गाडीमा आधा घण्टाका दूरीमा पुगिने पार्वतीकुण्डलाई बोझोले ढाकेपछि बागमती प्रदेश सरकारको सहयोगमा सफा गरी एक सय आठ धारा निर्माण गरिएको छ । जनैपूर्णिमाको दिन धामीझाँक्रीले गाउँवासीको सुखशान्ति र समृद्धिको कामना गर्दै तन्त्रमन्त्र, कला, साधनासहित पूजा गर्ने गरेको उपप्रमुख तामाङ बताउँछिन् । सो कुण्डमा बौद्ध तथा हिन्दू धर्मावलम्बी मनोकाङ्क्षा पूरा हुने विश्वासमा वर्षौँदेखि जाने गरेका छन् ।
काठमाडौँबाट सडकमार्ग हुँदै ६ घण्टामा कुण्ड पुगिन्छ । कुण्डसँगै रहेको गत्लाङ गाउँमा घरवास कार्यक्रम रहेको र पाँच हजार यात्रुलाई बस्न, खान सुपथ मूल्यमा उपलब्ध हुने समितिका अध्यक्ष चेरसिंहले बताए । पार्वतीकुण्डको सुन्दरताले गर्दा वर्षमा दुईपटक साथीभाइ र परिवारसँग आफू आउने गरेको नुवाकोट जिल्ला लिखु गाउँपालिका ढिकुरेका विदुर लामिछानेले बताए । बागमती प्रदेश सरकार, डिभिजन वन कार्यालय र गाउँपालिकाको संयुक्त पहलमा कुण्डमा आंशिक रूपमा सरसफाइ गर्ने काम भए पनि धारा अझै व्यवस्थित हुन सकेको छैन । बोझो हटाएर कुण्ड सफा गर्न ठूलै बजेट आवश्यक पर्ने भएकाले स्थानीयवासीका पहलमा सम्भव नभएको पत्रकार ज्ञानेन्द्र न्यौपाने बताउँछन् । सडकमार्गको सहज सुविधा र पर्याप्त घरवाससँगै प्राकृतिक सुन्दरताको अवलोकन गर्न कुण्ड क्षेत्र उपयुक्त स्थान रहँदारहँदै पनि प्रचारप्रसारको कमीले सोचेजति अवलोकनकर्ता नआएको उनले बताए । त्यस क्षेत्रमा दर्शनावलोकनस्तम्भ निर्माणलगायत झाडी फाँडेर वृक्षरोपण गर्ने र थप पूर्वाधार निर्माणको कामसमेत भइरहेको छ ।