सैन्य तालिम केन्द्रबाट ७१ हजार सिपाही उत्पादन

  • त्रिशूली प्रवाह
  • २४ श्रावण २०८१, बिहीबार १३:४९

बट्टार नुवाकोटमा रहेको नेपाली सेनाको पहिलो र सबैभन्दा पुरानो सैन्य तालिम केन्द्र मैथलीबाट हालसम्म ७१ हजार तीन सय ७८ तालिमे सिपाही उत्पादन भइसकेका छन् । तीमध्ये तीन हजार चार सय महिला छन् ।

केन्द्रको नवौँ वार्षिकोत्सव समारोहमा यही साउन १७ गते केन्द्रपति प्रमुख सेनानी सोभितबहादुर चन्दले उक्त जानकारी दिए । समारोहको उद्घाटन नेपाली सेना श्री नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी रोजप्रताप जबराले गर्दै सेनामा प्रवेश गरेका नवनियुक्त सैनिक जवानलाई सैनिक अनुशासन, पेसागत ज्ञान, सीप, शारीरिक तथा मानसिक दक्षता प्रदान गरिँदै आएको बताए । सेनालाई आवश्यक दक्ष सिपाही उत्पादन गर्न केन्द्र सफल रहने विश्वाससमेत उनले व्यक्त गरे ।

‘गरौँ सेवा देशको’ भन्ने आदर्श वाक्य रहेको श्री नम्बर १ सैन्य तालिम केन्द्रको वार्षिकोत्सवका अवसरमा केन्द्रपति चन्दले स्वागत गर्दै नेपाल एकीकरणका क्रममा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट स्थायी सेनाको आवश्यकता महसुस गरी वि.सं. १८१९ असोज ५ गते खडा भएका पाँच गुल्ममध्ये सो तालिम केन्द्र (तत्कालीन श्री कालीबक्स गुल्म) रहेको उनले बताए । उनका अनुसार त्यसपछि तालिम सञ्चालनसम्बन्धी जिम्मेवारी दिई विधिवत् रूपमा स्थापित केन्द्र विभिन्न आरोह–अवरोहका साथ ०३८ साल पुस १४ गतेदेखि श्री सैन्य तालिम केन्द्रमा परिणत भएको थियो । ०४२ पुसमा भक्तपुरबाट नुवाकोटको मैथली क्याम्प, त्रिशूलीमा स्थानान्तरण भई हालसम्म नेपाल सरकार तथा नेपाली सेनाबाट प्राप्त नीति, निर्देशन र आफूलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा पालना गर्दै आइरहेको छ ।

केन्द्रले देशका विभिन्न स्थानबाट विविध शैक्षिक योग्यता, बौद्धिकस्तर, भाषा, धर्म, संस्कृति र जातजाति भएका गैरसैनिक व्यक्तिलाई नेपाली सेनाको आधारभूत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी देश र जनताप्रति वफादार, अनुशासित, कर्तव्यपरायण र नेपाली सेनाको पेसेवार दक्ष सिपाही तयार गर्दै आइरहेको छ । केन्द्रले हालसम्म सि.सं. ७९ सैन्य आधार तालिम सफलतापूर्वक सम्पन्न गराइसकेको छ । विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले ऐतिहासिक जिल्लामा गौरवमय इतिहास बोकेको तालिम केन्द्रको सङ्गमले जिल्लावासी र केन्द्र परिवारबीचको सम्बन्ध अझ प्रगाढ एवम् सुदृढ बनेको बताइन् । तालिम केन्द्रका इष्टदेवता सरस्वती र कुलदेवता भैरवी देवी छन् ।

विशेष सांस्कृतिक कार्यक्रमसहितको समारोहमा जिल्ला न्यायाधीश सुवासबाबु पुरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बाहिनी अड्डाअन्तर्गत धादिङमा तैनाथ शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, नुवाकोटमा तैनाथ शेर गणका गणपति प्रमुख सेनानी विष्णु कार्की, रसुवामा तैनाथ श्रीनाथ गणका गणपति प्रद्युम्न गौतम, नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालासहित जिल्लास्थित कार्यालयका प्रमुख, जिल्लाका उद्योगी, व्यवसायी, समाजसेवी एवम् पूर्वसैनिक अधिकृत तथा पदिकको सहभागिता थियो ।