
विदुर । नेकपा (एमाले) को गत हप्ता सम्पन्न केन्द्रीय सचिवालयको ३४औँ बैठकले पार्टी केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्य मनोनयन तथा केन्द्रीय कमिटी सदस्यलाई जिल्ला तह र निर्वाचन क्षेत्रको इन्चार्जको कार्यविभाजन गरेको छ ।
बैठकले उपाध्यक्षमा गुरुप्रसाद बराल तथा स्थायी कमिटीमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरेको छ ।
बैठकले केन्द्रीय कमिटीमा १७ तथा निर्वाचन आयोग, अनुशासन आयोग र सल्लाहकार परिषद्मा केही सदस्य मनोनयन पनि गरेको छ । बैठकले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका साथै नयाँ परिवेशमा जनअपेक्षानुरूप केन्द्रीय सदस्यलाई प्रदेश र जिल्लाका लागि नयाँ कार्यविभाजन गरेको छ । नयाँ कार्यविभाजनअनुसार बागमती प्रदेशका इन्चार्जमा डा. राजन भट्टराईलगायत बाँकी ६ वटै प्रदेशका इन्चार्ज तोक्ने कामसमेत बैठकले गरेको छ । यसअघि गत वर्ष फरक भूगोलको जिम्मेवारी पाएका अधिकांश केन्द्रीय कमिटी सदस्यले गृहजिल्लाको जिम्मेवारी पाएका छन् । नयाँ व्यवस्थाअनुसार जिल्लाका नेता एवम् प्रदेश सरकारका पूर्वमन्त्री केशवराज पाण्डेले नुवाकोटको इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस पहिले सिन्धुपाल्चोकका पोलिटब्युरो सदस्य अरुणप्रसाद नेपाल नुवाकोटका जिल्ला इन्चार्ज थिए । तत्कालीन अवस्थामा बागमती प्रदेश कमिटीका अध्यक्षको जिम्मेवारीमा समेत रहिसकेका पाण्डे ०८० असोज १३ मा भएको बागमती प्रदेश अधिवेशनबाट आफूलाई अध्यक्षमा दोहो¥याउने योजनामा भए पनि नेतृत्वले नपत्याउँदा पछि हटेका थिए । उनले सहयोग गरेपछि रामेछापका कैलाश ढुङ्गेल अध्यक्ष निर्वाचित भएका थिए । उक्त अधिवेशनपछि पाण्डे जिम्मेवारीविहीन भएका थिए ।
प्रदेश अध्यक्ष, पोलिटब्युरो सदस्यबराबरको हैसियत भनेर जिल्लामा पाण्डेले आफूलाई सिनियर नेताका रूपमा प्रस्तुत गरे पनि चितवनमा भएको पार्टीको दसौँ महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्य बनाइएकी विन्दा ढुङ्गानाले मर्यादाक्रममा आफूलाई पहिलो र दोस्रो सदस्य उषाकिरण तिम्सिनाले आफू वरिष्ठ भनेर दाबी गर्नाले जिल्लामा ‘को ठूलो’ भन्ने विवादले माइन्युट च्याताच्यात र भनाभनको अवस्थासमेत सिर्जना भएको थियो । यहाँसम्म कि एकले अर्कालाई निषेध गर्ने र कार्यक्रममा प्रमुख अतिथि बन्ने विषयमा सधैँ विवाद हुँदा एमालेका कार्यकर्ता भने रनभुल्लमा पर्ने गरेका थिए । ०८० पुस २० गते एमाले सचिवालयको बैठकले पाण्डे केन्द्रीय सदस्यमा मनोनीत भइसकेपछि पनि ‘हामी निर्वाचित, केशव त मनोनीत’ भनेर ढुङ्गानाद्वारा उनको मानमर्दन गर्ने क्रम जारी नै थियो । यसमा तत्कालीन जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनालीसमेत दोहोरो भूमिकामा थिए । आठाँै जिल्ला अधिवेशनको मुखतिर पाण्डेलाई आफ्ना पक्षमा रिझाउनका लागि ढु¬ङ्गानाका ठाउँमा प्रमुख अतिथिका रूपमा पाण्डेलाई बोकेर मैनाली जिल्ला दौडाहामा हिँड्ने गरेपछि ढुङ्गाना चुप लाग्न बाध्य भएकी थिइन् । फेरिएको जिम्मेवारीअनुसार पाण्डे जिल्ला इन्चार्ज भएका छन् भने केन्द्रीय सदस्यद्वय ढुङ्गाना र तिम्सिनाको प्रतिनिधिसभा क्षेत्र परिवर्तन भएको छ । ढुङ्गानालाई साबिककै प्रतिनिधिसभा १ नम्बर निर्वाचन क्षेत्र र तिम्सिनालाई प्रतिनिधिसभा २ नम्बर क्षेत्रको इन्चार्ज बनाइएको छ । यसअघि ढुङ्गाना क्षेत्र नम्बर २ र तिम्सिना क्षेत्र नम्बर १ को इन्चार्ज थिइन् ।
त्यसैगरी सचिवालय बैठकले छिमेकी जिल्ला रसुवाको जिल्ला इन्चार्जमा केन्द्रीय कमिटीका सदस्य प्रेम तामाङलाई तथा पुराना नेता माधवप्रसाद अर्याललाई प्रदेश सभा २ को इन्चार्ज तोकेको छ । अर्को जिल्ला धादिङका इन्चार्जमा भने केन्द्रीय कमिटीका सदस्य खेम लोहनीलाई तोकिएको छ । यसअघि लोहनी सिन्धुली जिल्ला इन्चार्ज थिए । धादिङ प्रतिनिधिसभा १ को इन्चार्जमा केन्द्रीय सदस्य जानुका सिम्खडालाई तोकिएको छ ।