गोसाइँकुण्ड मेलाका लागि खाना, बास र घोडाचढीको मूल्य निर्धारण

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८१, शुक्रबार १५:५९

धुन्चे । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष निर्णय गरेको छ ।

यही साउन २२ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका संयोजकत्वमा बसेको बैठकले घट्टेखोलादेखि गोसार्इँकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा मेला अवधिभर राखिने थर्पुमा लिइने खाना, खाजा र बासको दर निर्धारण गरेको छ । कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्जका रेन्जर नितेन्द्र सिंह, गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएम, उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुकसाङ तामाङ, पर्यटन तथा होटल व्यवसायी सङ्घका अध्यक्ष रामशरण गजुरेल, स्थानीय व्यवसायी वीरेन्द्र उप्रेतीलगायतका उपस्थितिमा गत वर्ष र यस वर्षको दरबारे छलफल गरी अहिलेको दर कायम गरिएको हो । सहायक प्रजिअका अनुसार मिनी गोसार्इँकुण्ड घट्टेखोला क्षेत्रमा कालो चिया एक कपको रु २५, फेदीम रु ३०, देउरालीमा रु ३५, ढिम्सामा रु ४०, चन्दनबारीमा रु ५०, चोलाङ्पाटीमा रु ६०, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु ७० र गोसाइँकुण्डमा रु ८० रहेको छ । दुधको चिया घट्टेखोलामा प्रतिकप रु ३०, खन्तीमा रु ३५, देउरालीमा रु ४०, ढिम्सामा रु ५०, चन्दनबारीमा रु ७०, चोलाङ्पाटीमा रु ८०, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु एक सय तथा गोसार्इँकुण्डमा रु १२० छ ।

खानासेट घट्टेखोलामा रु दुई सय ७५, खन्तीमा रु तिन सय, चोलाङ्पाटीमा रु पाँच सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु पाँच सय ५० तथा गोसार्इँ कुण्डमा रु ६ सय कायम गरिएको छ । त्यसैगरी एक रातको सुतेको दर घट्टेखोलामा रु तिन सय, खन्तीमा रु तिन सय २५, देउरालीमा रु तिन सय ५०, ढिम्सामा रु चार सय, चन्दनबारीमा रु चार सय ५०, चोलाङ्पाटीमा रु पाँच सय, लौरीबिना र बुद्ध मन्दिर डाँडामा रु पाँच सय ५० तथा गोसार्इँ कुण्डमा रु ६ सय मूल्य निर्धारण गरिएको छ । होटलमा बास बसेको प्रतिव्यक्ति घट्टेखोलामा रु तिन सय, खन्तीमा रु तिन सय २५, देउरालीमा रु तिन सय ५०, ढिम्सामा रु चार सय, चन्दनबारीमा रु चार सय ५०, चोलाङ्पाटीमा रु पाँच सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु पाँच सय ५० तथा गोसार्इँकुण्डमा रु ६ सय दर कायम गरिएको छ । त्यसैगरी होटलको कोठा प्रतिव्यक्ति घट्टेखोलामा रु दुई सय ५०, खन्तीमा रु चार सय, देउरालीमा रु पाँच सय, ढिम्सामा रु ६ सय, चन्दनबारीमा रु सात सय, चोलाङ्पाटीमा रु आठ सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु नौ सय तथा गोसाइँकुण्डमा रु एक हजार छ । तातो खानेपानीको ठुलो गिलासको मूल्य घट्टेखोलामा रु १०, खन्तीमा रु २०, देउरालीमा रु ३०, ढिम्सामा रु ४०, चन्दनबारीमा रु ५०, चोलाङ्पाटीमा रु ६०, लौरीबिना र बुद्ध मन्दिर डाँडामा रु ७० तथा गोसार्इँकुण्डमा रु ७० कायम गरिएको छ ।

घोडाचढीको मूल्य घट्टेखोलादेखि चन्दनबारीसम्म रु चार हजार, घट्टेखोलादेखि बुद्धमन्दिरसम्म रु सात हजार पाँच सय, घट्टेखोलादेखि गोसाइँकुण्डसम्म रु आठ हजार, देउरालीदेखि चोलाङ्पाटीसम्म रु तिन हजार सात सय ५०, देउरालीदेखि गोसाईँकुण्डसम्म रु सात हजार पाँच सय तथा चन्दनबारीदेखि बुद्धमन्दिरसम्म र चोलाङ्पाटीदेखि गोसार्इँकुण्डसम्म रु पाँच हजार पाँच सय–रु पाँच हजार पाँच सय निर्धारण गरिएको छ । निर्धारण गरिएको मूल्य मेला अवधिभर मात्रै लागु गरिने बताइएको छ ।

–––