त्रिशूली बजार जोड्ने नयाँ पुल आंशिक सञ्चालन

‘साँघु बजार’ सुनसान

  • त्रिशूली प्रवाह
  • ३० श्रावण २०८१, बुधबार १३:१९
  • रमेश सिलवाल

ढुङ्गे । नुवाकोट, विदुर नगरपालिका-१, धोबीखोला र त्रिशूली बजारस्थित नेपाल विद्युत् प्राधिकरण विद्युत्गृह प्रवेशद्वार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको पक्की पुल हस्तान्तरण र उद्घाटन नहुँदै आंशिक रूपमा सञ्चालनमा आएको छ । निर्माणको काम थोरै बाँकी रहे पनि सवारी साधन पुलबाट गुड्न थालेका छन् ।

जिल्लाकै पहिलो जलविद्युत् परियोजना त्रिशूली जलविद्युत् केन्द्र निर्माणका क्रममा २०२० सालमा बनेको पुल जीर्ण भएपछि सँगै नयाँ पुल डेढ वर्षअघि निर्माण सुरु भएको थियो । छ दशकअघि जलविद्युत् केन्द्रका लागि निर्माण सामग्री ओसार–पसार गर्न बनेको पुल अहिले जीर्ण र कुनै पनि समय दुर्घटना हुन सक्ने अवस्थामा रहेको विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितले बताए । पुरानो पुल अत्याधिक भारवहन र समयक्रमसँगै जीर्ण भएर दुर्घटनाको जोखिम बढेपछि त्यसलाई यथावत् राखेर नजिकै नयाँ पुल निर्माण भइरहेको जनाइएको छ । नयाँ पुल निर्माणपछि दुर्घटनाको जोखिम हट्नाका साथै ‘साँघु बजार’ क्षेत्रमा आवागमनमा सहज हुनेसमेत उनले जिकिर गरे । करिब रू आठ करोडका लागतमा निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको पुलको लम्बाइ ६० मिटर लामो र ११ मिटर चौडा दोहोरो लेनको छ । उक्त नयाँ पुल बक्स कडर प्रिस्टेस प्रविधिमा निर्माण भएको हो ।

‘डिजाइन एन्ड बिल्ड मोडल’ मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, पुल महाशाखा काठमाडाँैंअन्तर्गत सेक्टर–२, ललितपुरका संयोजनमा निर्माण भएको पुलको बार र पर्खाल रङ्रोगन तथा दायाँबायाँ पहुँचमार्ग कालोपत्रेको काम बाँकी छ । बडादशैंभित्रै निर्माण सम्पन्न गरी बुझाइने निर्माण कम्पनी हिमडुङ एन्ड थोकर/गणेशकुण्ड निर्माण कम्पनी जेभीका राजेन्द्र थपलियाले जानकारी दिए । “नयाँ पुल निर्माण सम्पन्न भएको छ, यसबाट त्रिशूलीबजार क्षेत्रको ट्राफिक जामको समस्या कम हुने अपेक्षा छ”, स्थानीयबासी एवं टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले भने । पुल आंशिकरूपमा सञ्चालन हुन थालेपछि पुरानो पुलको वारिपारि सुनसान जस्तै बनेकाले व्यवसाय घटेको त्रिशूली बजारका समाजसेवी मोहनबहादुर श्रेष्ठले बताए । पुल सञ्चालन हुन थालेपछि ऐतिहाँसिक साँघुबजार सुनसान हुन थालेको स्थानीय व्यवसायी निरज खड्गीले बताउनु भयो ।