
तारकेश्वर । नुवाकोटको तारकेश्वर-५ कल्लेरीडाँडास्थित शङ्खादेवी माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापकका लागि विद्यालयको लेटरहेड किर्ते र विद्यालयको छाप अवैध प्रयोग भएको तथ्य सार्वजनिक भएको छ । पालिका शिक्षा समितिले निमित्त प्रधानाध्यापकको नियुक्ति दामोदर कुइँकेललाई गरे पनि पालिका अध्यक्षको निर्देशनमा शिक्षक राजाराम अधिकारीले स्वयम्लाई निमित्त प्रधानाध्यापक स्वघोषित गरी विद्यालय व्यवस्थापन समितिको बैठक मंगलबार बोलाएपछि लेटरहेड किर्ते र छाप अवैध भएको तथ्य बाहिरिएको हो । विद्यालयका शिक्षक अधिकारीले विद्यालयको लेटरहेड दुरुपयोग गर्दै हुँदै नभएको अधिकारका नाममा किर्ते काम गरी आफूलाई नै प्रधानाध्यापकको स्वघोषणा गरेका छन् ।
अनियमितता, भ्रष्टाचार र स्वच्छाचारी प्रवृत्ति हाबी हुने तारकेश्वरमा विकृतिको सबैभन्दा ठूलो चाङ शिक्षा क्षेत्रमा देखिएको छ । पछिल्लो विकृतिका रूपमा शङ्खादेवी माविको मनोमानीलाई लिन सकिन्छ । विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी कुइँकेलको काँधमा रहेको र उनको उपस्थिति रहँदारहँदै अर्का शिक्षक अधिकारी निमित्त प्रधानाध्यापकका कुर्सीमा बसेर धमाधम प्रअका हैसियतमा हाँकोडाँको गर्दै छन् । गाउँपालिका शिक्षा शाखाले गत २०७९ चैतदेखि वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने नियम बनाएपछि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी कुइँकेलले सम्हाल्दै आएका छन् । अर्को कुनै पनि व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी नदिइएको अवस्थामा हालसम्म कुइँकेल नै जिम्मेवारीमा छन्, तर गाउँपालिका अध्यक्ष शिव अधिकारीका निकटतम् सहयोगी अधिकारीले भने आफूले आफैँलाई नै विद्यालयको प्रधानाध्यापक स्वघोषणा गरेर साउन ३० गते विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएका छन् ।
समितिले कुनै निर्णय नगरेको अवस्थामा प्रधानाध्यापकको हैसियतमा अधिकारीद्वारा व्यवस्थापन समितिको बैठक आह्वान गरेपछि यो विषय बाहिर आएको हो । समितिका अध्यक्ष शिवप्रसाद घिमिरेले अधिकारीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी नदिइएको बताए । समितिको निर्णयबिना स्वेच्छाचारी तरिकाले विद्यालयको लेटरहेड दुरुपयोग गरी नभएको अधिकार लिएर आफूलाई नै निमित्त प्रधानाध्यापकको स्वघोषणा घोषणा गर्नु गैरकानुनी भएकाले छानबिन गरी उनलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई पत्र पठाइने समितिका अध्यक्ष घिमिरेले बताए ।