
- सुनील श्रेष्ठ
नुवाकोट । महिला स्वास्थ्य स्वयम्सेविका सावित्री केसीले आफ्नो कार्यक्षेत्रका वडावासी महिलाको व्यक्तिगत दर्ता घटनामा अग्रसरता देखाएकी छिन् । विदुर-२ की स्वास्थ्य स्वयम्सेविका केसी अशोकबाटिकाकी स्थानीयवासी रमिता श्रेष्ठको विवाह र उनको सन्तानको जन्मदर्ता सहजीकरणमा लागेकी छिन् । सरकारले उपलब्ध गराउने गर्भवती/सुत्केरीको पोषण, जाँचलगायत सेवाबाट वञ्चित हुन नदिन गर्भवती श्रेष्ठको स्वास्थ्य सेवामा उनले तल्लीनता देखाएकी हुन् । विवाह र सन्तानको जन्मदर्ता भएकामा श्रेष्ठले खुसी व्यक्त गरेकी छिन् । श्रेष्ठको अहिले छोरा तीन वर्षको छ र उनी गर्भवती छिन् । उनले भनिन्, ‘यत्तिका समयसम्म विवाहपछि विवाहदर्ता गर्नुपर्ने ज्ञानको कमीले जन्म दर्ता पनि गरेकी छैन, विवाह दर्ता पनि भएको छैन । न श्रीमान्ले भन्नुभयो न आफैँलाई नै थाहा भो ।’ विवाह दर्ता नगर्दा आफूले पाउने सेवा पाउन धेरै असुविधा हुने कुरो उनले बल्ल बुझिन् ।
नेपालको प्रचलित देवानी कानुनबमोजिम सामाजिक परम्पराअनुसार विवाहपछि स्थायी ठेगानामा रहेको सम्बन्धित स्थानीय निकायमा दर्ता गरी विवाह दर्ता प्रमाणपत्र लिनुपर्ने हुन्छ । सोहीअनुसार पारिवारिक समस्याले विवाह दर्ता नभएकी श्रेष्ठको विवाह दर्ता प्रक्रियामा तदारुकता देखाएकी केसीले उठाएको समस्यालाई विदुर– २ का वडासदस्य आनन्द श्रेष्ठले पनि आवश्यक र प्रमाणिक कागजात भए नागरिकले सामाजिक घटना दर्ता गर्न सकिने बताए । पछिल्लो समय बदलिँदो स्वास्थ्य समस्यासँगै स्वास्थ्य स्वयम्सेविकाको भूमिका पनि बढ्दै गएको वडासदस्य श्रेष्ठले बताए । केसीले सुरक्षित मातृत्वमा तल्लीन
सरकारले ल्याएको खोप कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ र पोलियो थोपा, परिवार नियोजनका साधन वितरण, विभिन्न खोप कार्यक्रम सञ्चालन गर्नेदेखि सुरक्षित मातृत्व कार्यक्रमका लागि परामर्श दिने कामका साथै महिनामा एकपटक आमा समूहको छलफल चलाउने गरेकी छिन् ।
गर्भवतीलाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु¥याउने, परिवार नियोजनको साधन वितरण गर्नेलगायत जिम्मेवारी निर्वाह गर्दै आएकी केसी यी र यस्तै गतिविधिमा करिब ३० वर्षदेखि सक्रिय छिन् । ‘वडाका टोलटोलमा महिला तथा बालबालिका स्वास्थ्यबारे सेवा दिन पाउँदा खुसी लाग्छ,’ केसीले भनिन्, ‘२७ वर्षको अवधिमा यी कामले आर्थिकभन्दा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा नाम कमाएकी छु । यसमै खुसी छु । सोहीअनुसार सरकारले पनि उचित मूल्याङ्कन गर्ला नै ।’