रसुवागढी सडक गतिलो नहुँदा चीनबाट आयातीत सामान सामुद्रिक मार्गबाट

  • त्रिशूली प्रवाह
  • ३१ श्रावण २०८१, बिहीबार १२:३९

काठमाडौँ । उत्तरी छिमेकी देश चीनबाट आयात गरिएका सामानको लागत कम पर्ने र दुई हप्तामै नेपाल आइपुग्ने भए पनि रसुवागढी नाकाको सडक गतिलो नहुँदा व्यवसायी सामुद्रिक मार्ग रोज्न बाध्य छन् । सडक पूर्वाधार भरपर्दो नहुँदा चीन र नेपालबीचको रसुवागढी नाकाबाट हुने व्यापार तुलनात्मक रूपमा कम हुँदै गएको छ ।

नेपाली व्यवसायीले महँगो, संवेदनशील र ठूलो परिमाणमा आयात गर्ने सामान सामुद्रिक मार्ग भारत हुँदै वीरगन्जबाट ल्याउने गरेका छन् । वर्षात्को समय चीन र नेपालतर्फको सडकमार्ग बाढीपहिरोले र हिउँदका समयमा चीनतर्फको सडक हिउँ परेर अवरुद्ध हुने गरेको छ । बाह्रै महिना सडकमार्ग चल्न नसकेका कारण रसुवागढी नाका भन्दा ढिलो र लागत बढी पर्ने भएपछि सामुद्रिक मार्गबाट सामान ल्याउन व्यवसायी बाध्य भएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वाध्यक्ष एवम् संरक्षक बच्चु पौडेलले बताए । रसुवागढी मात्र नभई सिन्धुपाल्चोकको तातोपानी नाका पनि बाह्रै महिना सञ्चालन हुन नसकेको जनाइएको छ ।

चीन र नेपालबीच सामान आयात–निर्यातका लागि अहिले रसुवागढी र तातोपानीसहित १४ नाका सञ्चालनमा छन् । तीमध्ये रसुवागढीसहित तीन अन्तर्राष्ट्रिय नाका नै हुन् । नेपालको चीनसँग जोडिएको नाका र नाकासम्म पुग्ने भरपर्दो सडकमार्गलगायत पूर्वाधार नहुँदा दुई देशबीचको व्यापार समुद्र र हवाईमार्गबाट हुने गरेको छ । दुई देशबीचको कुल व्यापारमा एकतिहाइ मात्र आयात–निर्यात दुई देशबीचको सडकमार्गबाट हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०८०/८१ मा नेपाल र चीनबीच कुल रु. तीन खर्ब एक अर्ब ३६ करोड ३२ लाखबराबरको व्यापार भएको छ । तर, चीनतर्फका नाकाबाट रु. एक खर्ब दुई अर्ब ९९ करोड ९० लाखको व्यापार भएको भन्सार विभागको तथ्याङ्क छ  जुन चीनतर्फ भएको कुल व्यापारको ३४.१७ प्रतिशतबराबर हो । बाँकी ६५.८३ प्रतिशत व्यापार भने भारत र हवाईमार्गबाट हुने गरेको छ । यसबीचमा नेपालले चीनबाट रु. दुई खर्ब ९८ अर्ब ७७ करोड ४६ लाखको आयात गर्दा रु. दुई अर्ब ५८ करोड ८६ लाखको निर्यात गरेको छ । सोमध्ये दुई देशबीचका नाकाबाट भने नेपालले कुल रु. एक खर्ब एक अर्ब २५ करोड ३५ लाखको आयात र रु. एक अर्ब ७४ करोड ५५ लाखको निर्यात गरेको छ ।

नेपाल र चीनबीच सञ्चालनमा रहेका नाका मौसमबाट प्रभावित हुने कारण तुलनात्मक रूपमा सामुद्रिक र हवाईमार्गबाट बढी व्यापार भइरहेको हिमालय सीमापार वाणिज्य सङ्घका संरक्षक पौडेलले बताए । ‘वर्षाका समयमा चीन र नेपाल दुवैतर्फ बाढीपहिरोको जोखिम धेरै छ, सडक अवरुद्ध भइरहन्छ, हिउँदका समयमा भने चीनतर्फ धेरै हिउँ परेर ढुवानीमा समस्या हुने गरेको छ,’ उनले भने, ‘सञ्चालनमा रहेका दुई ठूला नाका रसुवा र तातोपानी बाह्रै महिना चल्न नसक्ने भएका कारण दुई देशबीचको व्यापार नाकाबाट भन्दा सामुद्रिक मार्गबाट बढी हुने गरेको हो ।’ खासगरी भूकम्प र कोभिडका कारण नाका प्रभावित हुँदा नाकाबाट हुने व्यापार अनुपात कम देखिएको भए पनि क्रमशः बढ्दो अवस्थामा रहेको पौडेलले बताए । ‘खासगरी भारत हुँदै सामुद्रिक मार्गबाट ल्याउँदा दुई महिना लाग्छ भने सडकमार्गबाट ल्याउँदा १५–१७ दिनमा सामान आइपुग्छ, तर लागतचाहिँ सामुद्रिक मार्गकै केही सस्तो छ,’ उनले भने, ‘यद्यपि दुई देशबीचको व्यापारका लागि बन्दरगाह, सडकलगायत पूर्वाधार निर्माणसमेत भइरहेका सन्दर्भमा नाकाबाट हुने व्यापारसमेत बढिरहेको देखिन्छ ।’

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले सडक पूर्वाधार भरपर्दो नहुँदा दुई देशबीचको नाकाबाट हुने व्यापार तुलनात्मक रूपमा कम देखिएको बताए । खासगरी ठूुलो परिमाणमा हुने आयातका लागि व्यवसायीले सामुद्रिक मार्ग हुँदै वीरगन्जबाट ल्याउने गरेको जनाइएको छ  । ‘सडक गतिलो नभएका कारण व्यवसायीले महँगा र संवेदनशील सामान रसुवा वा तातोपानी नाकाको साटो सामुद्रिक मार्ग (भारत हुँदै) रोज्ने गरेका छन्,’ उनले भने, ‘नाकासम्म पुग्ने सडकको अवस्था राम्रो नभएकै कारण व्यवसायीले रिस्क लिन नचाहेका हुन् ।’ सामुद्रिक मार्गबाट ल्याउँदा एक महिनाभन्दा बढी समय लाग्ने भए पनि लागत केही कम हुने गरेको पाइएको उनले बताए । यद्यपि, रसुवा वा तातोपानी नाकाबाट ढिलामा १७ दिनमा सामग्री ल्याउन सकिने भएकाले ‘अपच्र्युनिटिज बिनिफिट’ (पुनः लगानी गरेर लाभ आर्जन गर्ने सम्भावना) लिन सक्ने जनाइएको छ ।

आव २०८०/०८१ मा रसुवाबाट रु. ६० अर्ब ९१ करोड दुई लाखको आयात हुँदा रु. एक अर्ब ७३ करोड ६२ लाखको निर्यात भएको छ । त्यस्तै, तातोपानीबाट रु. ४० अर्ब ३४ करोड ३३ लाखको आयात हुँदा रु. ९३ लाखको निर्यात भएको छ । नेपालको कुल आयातमा रसुवा नाकाको हिस्सा ३.८२ प्रतिशत छ । कुल निर्यातमा रसुवाको हिस्सा १.१४ प्रतिशत छ । त्यस्तै, नेपालको कुल आयातमा तातोपानी नाकाको हिस्सा २.५३ प्रतिशत छ । कुल निर्यातमा तातोपानी नाकाको हिस्सा ०.०१ प्रतिशत छ । अन्य परम्परागत नाकाबाट स्थानीयस्तरमा व्यापार हुने गरेको छ । तर, त्यसको तथ्याङ्क विभागको अभिलेखमा छैन । नेपाल–चीन पारवहन सन्धिको प्रोटोकलले दुई देशबीचका ६ नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवा (केरुङ), कोदारी (तातोपानी), किमाथान्का (सङ्खुवासभा), नेचुङ (कोरला), यारी (हिल्सा) र ओलाङचुङगोला (ताप्लेजुङ) नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरेको छ । त्यसमध्ये रसुवा, तातोपानी र हिल्सा मात्रै सञ्चालनमा छन् । बाँकी अन्य नाका परम्परागत रूपमै सञ्चालनमा छन् । करिब दुई महिनाअघि किमाथान्का, तिप्ताला भञ्ज्याङ, लप्ची, फालक, थाप्ला पास, मार्युम्ला पास, कोरलालगायत नेपाल–चीनबीचका १४ वटै परम्परागत नाका सञ्चालनमा आएको घोषणा गरिएको थियो ।

चीन नेपालको भारतपछि दोस्रो ठूलो व्यापार साझेदार हो । नेपालको कुल व्यापारमा चीनतर्फको हिस्सा १७.३६ प्रतिशत छ । तर, दोस्रो ठूलो व्यापार साझेदारसँगको व्यापारघाटा भने चुलिँदो अवस्थामा छ । आव २०८०/०८१ मा नेपालले रु. दुई खर्ब ९८ अर्ब ७७ करोडको आयात गर्दा रु. दुई अर्ब ५८ करोडको मात्रै निर्यात गर्न सकेको छ । उक्त आवमा नेपालले रु. दुई खर्ब ९६ अर्ब १८ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ  जुन व्यापार घाटा अघिल्लो आव २०७९/०८० का तुलनामा रु. ७५ अर्ब २३ करोडले बढी हो । त्यसअघिको आव २०७९/०८० मा नेपालले रु. दुई खर्ब २२ अर्ब ७१ करोडको आयात गर्दा रु. एक अर्ब ७६ करोडको निर्यात गरेको थियो जसमा नेपाललाई रु. दुई खर्ब २० अर्ब ९५ करोड व्यापार घाटा भएको थियो ।