
थानापती । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा अर्को नयाँ झरना पत्ता लागेको छ । पालिकाको वडा नं.–८ मा पहिँचान गरिएको नयाँ झरना गोकुलेश्वर नामाकरण गरिएको छ । उक्त झरनामा पदयात्रा शुभारम्भ भएको छ ।
राजधानी काठमाडौँबाट नजिकै पर्ने उक्त झरनामा व्यवसायिक पदयात्रा र अवलोकनको शुभारम्भ शनिबारबाट भएको छ । स्थानीयले गोकुलेश्वर झरना पर्यावरण संरक्षण समिति बनाएर समितिको पहलमा गोरेटो बाटोसमेत बनाई प्रचार÷प्रसारको काम भएको हो । गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ पर्यावरण अभियन्तासमेत रहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको हो । अध्यक्ष बस्नेतले उक्त कार्यक्रमको सुरूवात गर्दै गोकुलेश्वर झरना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आय–आर्जन बढ्ने बताउनुभयो । प्रकृतिमाथि अहिले विभिन्न अन्याय भइरहेको सन्दर्भ राख्दै उहाँले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झरनासहितको पर्यटकीय स्थान पहिँचान गरेर न्याय दिलाएकोमा खुशी प्रकट गर्नुभयो । प्रकृतिलाई हामीले बचाउन सक्यौँ भने मात्र हामी पनि बाँच्छौँ । हाम्रा पुस्तासमेत सुरक्षित हुन्छन्, अध्यक्ष बस्नेतले भन्नुभयो, “शिवपुरी क्षेत्रका खोलानाला, वन, झरनासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर राम्रो हुने पक्का छ ।
जिल्लाको शिवपुरी गाउँपालिकामा पर्ने यो स्थान काठमाडौंबाट सामाखुशी चोकहुँदै ग्राण्डी अस्पताल–टोखा–गुर्जेभन्ज्याङ–गुरूङगाउँ–काफलडाँडासम्म टोखा–छहरे सडक हुँदै वाइक वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ । मुख्यमार्गमा झरेर झरनासम्म पुग्न करिव चार÷पाँच मिनेट पैदल हिँड्नुपर्छ । हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ । झरना पदयात्रा शुभारम्भ कार्यक्रममा उपस्थित हुनुभएका गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले स्थानीयको अग्रसरतामा गरिने हरेक काममा स्थानीय सरकारको सधैं साथ र सहयोग रहने बताउनु भयो । शिवपुरीका सम्पूर्ण पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकतामा राखेको समेत उहाँले बताउनुभयो ।