धुन्चे । रसुवा र नुवाकोट जिल्लाको सङ्गमस्थल उत्तरगयाधामदेखि कालिका मन्दिर गोसाईँकुण्डबाट पार्वतीकुण्डसम्म जनैपूर्णिमा मेलाका अवसरमा गत बिहीबारदेखि कलश यात्रा सुरू भएको छ ।
कालिका–२ का पुष्पराज देवकोटा भन्छन्, “कुण्डको जल लिएर चढाउन तथा पूजापाठ गर्नका लागि कलश यात्रा गरिएको हो ।” बेत्रगङ्गाको जल उत्तरगयामा बनेको एक सय आठ शिवलिङ्ग र कालिका मन्दिरमा चढाइने र पैदल यात्रा गर्दै गोसाईँकुण्ड, पार्वतीकुण्डको जल ल्याएर पुनः कालिका मन्दिरमा चढाइने यात्रामा सहभागी झङ्कनाथ न्यौपानेले जनाए । उत्तरगयाधाममा पुगेर पितृ उद्धारको कामना गरी कलश यात्रा समापन गरिने छ । यात्राका क्रममा छत्र नाच र खैंजडी भजन समेत गरिएको थियो । आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्न धार्मिक यात्राको महत्त्वपूर्ण भूमिका रहने यात्रामा सहभागी चित्रकुमारी न्यौपानेले बताइन् ।