समुन्द्रटार । नुवाकोट जिल्लाको प्रमुख धार्मिकस्थलमध्येको दुप्चेश्वर महादेवको मन्दिरमा चढाइएको भेटी सार्वजनिक गरिएको छ । गत हप्ता सार्वजनिक भएअनुसार गत वैंशाखदेखि साउन मसान्तसम्म रू २३ लाख ४१ हजार ७ सय ५८ सङ्कलन भएको छ ।
गाउँपालिकाले दुप्चेश्वर–६ स्थित मन्दिरको आयव्यय व्यवस्थित गरी बृहत्तर विकास गर्ने उद्देश्यले दुप्चेश्वर क्षेत्र विकास कोष स्थापना गरिएको छ । कोषले ‘बागमतीका पशुपतिनाथ’ मन्दिरमा हरेक दिन सङ्कलित भेटी सोही दिनको साँझ गणना गर्ने र सार्वजनिक गर्ने गरेको छ । कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले गत वैशाख १ देखि असार मसान्तसम्म तिन महिनाका अवधिमा रू १० लाख ५८ हजार पाँच सय ८७ भेटी सङ्कलन भई पुजारीको तलब भत्ता र पूजा सञ्चालनसहित रू चार लाख १७ हजार खर्च भएको जानकारी दिए । साउन महिना शिवको महिना मानिने भएकाले अन्य महिनाका तुलनामा दर्शनार्थी बढेको बताइएको छ । साउन एक महिनामा मात्र रू सात लाख ८० हजार चार सय ३० भेटी र सन्ध्या आरतीका लागि भक्तजनले चढाएका रू पाँच लाख दुई हजार सात सय ४१ गरी रू १२ लाख ८३ हजार १ सय ७१ सङ्कलन भएको छ । शिवभक्तले सोमबार पूजा गर्ने र साउनमा चार सोमबार परेको मध्ये अन्तिम सोमबार मात्र रू दुई लाख २५ हजार ६ सय ४० भेटी जम्मा भएको उनले जानकारी दिए । करेजुङ पहरास्थित मन्दिरमा दर्शन गर्न सहज हुने गरी सिँढीसहित फलामको बार र जस्ताको छानो राखिएको छ । पछिल्लो समय दुप्चेश्वर महादेवको दर्शन गरेर रसुवामा रहेको गोसाइँकुण्डको दर्शन गर्न जाने चलन छ । मन्दिरसम्म जान ढुङ्गाको खुड्किला र सिँढी बनाइएको दुप्चेश्वर–६ का वडाध्यक्ष किशोर आचार्यले बताए ।







प्रतिक्रिया