काठमाडौंँ । वामपन्थी नेता एवं पूर्वसांसद् गणेश पण्डितका सम्झनामा स्मृति ग्रन्थ सार्वजनिक भएको छ । गणेश पण्डित स्मृति केन्द्र शिखरबेंसी नुवाकोटले प्रकाशन गरेको स्मृति ग्रन्थ शनिबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी हुन् ।
सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ वामचिन्तक गणेश पण्डितको मूल्याङ्कन पनि समाज र राष्ट्रलाई दिएको योगदानका आधारमा गर्नुपर्ने धारणा राखिन् । अनेकाँैं अवसरलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित पण्डितले पञ्चायती कालरात्रिका अवधिमा अनेक यातना र जेलनेल भोग्नुपर्दासमेत राजनीतिमा निरन्तर लागेको उनले बताइन् । ‘‘अप्ठ्यारो परिस्थितिमा समेत निर्भयका साथ देश र जनताका पक्षमा निरन्तर क्रियाशील उहाँको क्रान्तिकारी स्वभावबाट खुला लोकतान्त्रिक परिवेशमा राजनीतिमा आबद्ध नेता तथा कार्यकर्ताले गहन शिक्षा लिनुपर्छ’’, उनले भनिन् । विसं २०१७ देखि ०४६ सम्म पञ्चायती शासनको कहालीलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी पण्डित राजनीतिमा होमिएको उनले स्मरण गरिन् ।
स्मृति ग्रन्थमा पण्डितले देश र जनताका पक्षमा गरेका कामको चर्चा गरिएको छ । विसं २००३ साउन ३० गते नुवाकोटको शिखरबेंसीमा जन्मिएका पण्डितको पछिल्ला समयमा धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा लागेका थिए । विद्यार्थी आन्दोलनमा लागेबापत पण्डितलाई पञ्चायती सरकारले काठमाडौँ उपत्यका प्रवेश निषेध गरेपछि उनी आफ्नो गृह जिल्ला नुवाकोटमा शिक्षण पेसामा आबद्ध भए । सुरूमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) मा आबद्ध भई वामपन्थी राजनीतिमा होमिएका पण्डित २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनका तर्फबाट सक्रिय थिए । प्रगतिशील पद्य कविता लेखनमा पनि सक्रिय पण्डित २०४७ सालमा तत्कालीन नेकपा (माक्र्सवादी) हुँदै नेकपा (एमाले) मा समाहित भएका थिए । नेता पण्डित विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित हुनाका साथै पूर्वसांसद मञ्चका महासचिव पनि भएका थिए । पछि एमालेको कारबाहीमा परेपछि स्वतन्त्र रहेका पण्डित पछिल्लो केही समय नेकपा (माओवादी केन्द्र) सँग निकट हुँदै पुनः एमालेसँग आबद्ध रहेका थिए । स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रम गणेश पण्डित स्मृति केन्द्रका अध्यक्ष कुमार पण्डितको सभापतित्व एवं केन्द्रका उपाध्यक्ष बालकृष्ण आचार्यको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सदस्य तथा पण्डितका भान्जा अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री वाचस्पति देवकोटा, नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्मा, पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझा, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा माओवादी (क्रान्तिकारी) का सिपी गजुरेल, पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई, नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्रप्रकाश लोहनी, पञ्चायक निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.माधव भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बिमला सुवेदी, एमालेका केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज केशवराज पाण्डे, एमालेका केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, नेपाली काँग्रेस नुवाकोटका पूर्व सभापति एवं संविधानसभा सदस्य जगदिश्वरसिंह नरसिंह केसी, बागमती प्रदेशका पूर्वराज्यमन्त्री एवं एमालेका जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनाली, नेपाली काँग्रेस नुवाकोटका सभापति एवं वागमती प्रदेशका सदस्य रमेशकुमार महत, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता डा.प्रधुम्न महतलगायतले पण्डितले देश र जनताका पक्षमा गरेका कामको चर्चा गरेका थिए । पण्डितलाई नुवाकोटका पुराना पुस्ताले शैक्षिक तथा वाम आन्दोलनको अगुवाका रूपमा चिन्छन् । उनको निधन २०७५ साल फागुन २९ गते निधन भएको थियो ।