तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ६ भाद्र २०८१, बिहीबार १२:१०
Buddha Eyes

नेपालीलाई वर्षैभरि जात्रैजात्रा । धनले गरिब भए पनि नेपाली तीन तहका मनकारी सर्खारले दिने बिदाले वाक्कदिक्क भएर बिदेसिन बाध्य छन् । महँगी र बेथितिले पिल्सिएका नेपालीलाई राहत दिन नसकेका सङ्घ, प्रदेश सर्खार तथा स्थानीय तह बिदा दिने प्रतिस्पर्धामा ऋणमाथि ऋण थोपर्दै । यो हप्ता सरकारी काज्र्यालय चार दिन मात्र खोल्दा सेवाग्राहीलाई कम्ती सास्ती भएन ! सर्खारी पात्रामा नभाको आकस्मिक बिदाले सेवा लिन आउने सेवाग्राही सदरमुकाममा अलपत्र ! शनिबार सार्वजनिक बिदा, सोमबार सङ्घको, मंगलबार प्रदेशको, बुधबार स्थानीय सर्खारको बिदा हुने हो कि भन्ने धुकचुकमा तेस्रो आँखा । हप्तामा तीन दिन बिदा मनाउन बाध्य बिचरा कर्मचारीको काम गर्ने ऊर्जा नष्ट हुने चिन्तामा नागरिक अगुवा छन् । भ्रष्टाचार बढे प्रेसर नबढ्ने त कुरै भएन । आर्थिक मन्दीले सेकिएका जनताले जात्रा, चाडपर्व र बिदा मनाउन ऋण काढ्दा कर्मचारीले भने यसोउसो गर्दै सेवाग्राहीको खल्ती र सरकारको ढुकुटी प्वाल नपारून् कसरी ? बिहानबेलुकीको हातमुख जोर्नु, छोराछोरीलाई कसरी पाल्नु र पढाएर मुग्लान पठाउनु । सर्खारको जय मनाऔँ, जय गणतन्त्रे सर्खारकी…जय ।