- रामहरि बाजे
बहुत ठूलो आशा र विश्वासका साथ गरिएको आन्दोलनको फलस्वरूप आएको लोकतन्त्रबाट जन्मेका कुशासन, कुविचार, कुसंस्कारका जङ्गलबाट सायद प्राध्यापक, विद्यावारिधिप्रापक, पण्डित, ज्योतिषीहरू लाजले पनि बाहिर निस्कन सकेका छैनन् होला । जे गरेर पनि कमाएको धनले घिउ पिउने – यस्तो विद्याबाट देशलाई कसरी मुक्ति दिने ? धनी भएपछि जे पनि गर्न पाइन्छ त ?
अब सुनियोजित अपराधमा दोब्बर सजाय हुनुपर्छ । टाठाले लाटालाई मात्र होइन, बाठालाई पनि लठ्याएरै जालमा पारी नाजायज कमाइ गरेर अरूकै नाउँमा र अज्ञात ठाउँमा थुपारेको सम्पत्तिको छानबिन हुनुपर्छ । साथै सहकारीका नाममा रिक्साचालक, इँटाभट्टाका मजदुर, गरिब, किसानका पसिना सोसेर र मोजमस्ती गर्दै करोडौँ ठगेर अरूकै नाउँमा कुकर्मका गुप्त ठाउँमा राखेर आत्मसमर्पण गर्नेलाई समेत पक्रेर कारागारमा हाल्नुपर्छ । अनि त्यसले त्यसका नातागोतादेखि विदेशी बैंकमा लगानीसम्मको रकम फिर्ता ल्याएर पीडितलाई नगदै दिलाउने गरी नयाँ सहकारी ऐन बनाउनुपर्छ । नत्र त अर्बौँ ठग्नेलाई पक्राउ गर्दा नक्कली बिरामी भई अस्पतालको सुकिलो शय्यामा सुकला गराउने नयाँ फेसन चलेकै छ नि ।
यो देशव्यापी रोग हो । गरिब हजारौँ किलोमिटर पैदल हिँडेर राजधानी आउँदा न्यायको सट्टामा प्रहरीले कुटेरै लखेट्ने र उजुर लिए पनि, जे पनि अर्थको अनर्थ लगाउने वकिल कानुनका संरक्षक होइनन् । अहिले जे पनि किनिन्छ, मान्छे बिक्छ । अब अपराधीलाई अस्पताल र जेलमा राखेर गरिब मजदुरको पसिनाका कमाइबाट भात खान दिन सकिँदैन । सुरुङमार्ग निर्माणका काममा ढुङ्गामाटो बोकाएर सबै ठग कैदीबाट चीन आदि देशका श्रम शिविरमा श्रम गराइन्थ्यो । यहाँ पनि त्यस्तै गर्नुपर्छ ।
अब वकिलबाट मुद्दा हेर्ने होइन, हरेक अञ्चलमा एक–एक जर्नेल भर्ती गरेर तिनका सामु ठग उभ्याएर आँखामा आँखा जुधाएर केरकार गरेपछि अपराधी गलिहाल्छ । सुशासन दिन नसके दुईतिहाइ मतको सरकार भए पनि केही लाग्दैन । अति भएपछि खती हुन्छ नै । बंगलादेशको सुनामी छालले नेपालको सानो जनसङ्ख्यालाई समेत बगाउने खतरालाई नकार्न सकिँदैन । यो काम हनिमुनमा रहेको सरकारले निर्ममताका साथ गर्न सकेन भने यसको आयु पनि हनिमुनकै बिहान अन्त्य हुनेछ । सबैलाई चेतना भया ।
विदुर–४
बागवानी, नुवाकोट
प्रतिक्रिया