
विदुर । नुवाकोट जिल्लामा पछिल्लो समय फुटसल खेल युवाहरूबिच लोकप्रिय भइरहेको छ । यस खेलको प्रतियोगिता हरेक महिनाजस्तो जिल्लामा भइरहेको छ । गत हप्ता मात्र सम्पन्न जिल्लास्तरीय छात्रछात्रा अन्तरविद्यालय फुटसलको उपाधि जालपादेवी (जेडी) बोर्डिङ स्कुल देवीघाट कोलनी र चन्द्रज्योति मावि विदुर–५ तल्लो पिपलटारले जितेका छन् ।
नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा बट्टारमा आयोजित तेस्रो एनयुएफसी कप फुटसल प्रतियोगिताको फाइनलमा छात्रतर्फ जेडीले चन्द्रज्योतिलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । यस्तै, छात्रातर्फको उपाधि चन्द्रज्योतिले अर्किड एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै प्राप्त ग¥यो । विजेता र उपविजेताले छात्रतर्फ रु. १५ हजार र सात हजार पाँच सय पुरस्कार प्राप्त गरे । यसैगरी छात्रातर्फ रु. १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरे । विजेतालाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताभर लिग, प्रिक्वार्टर, क्वार्टर, सेमिफाइनल र फाइनल खेल गरी ५९ खेल खेलाइएको थियो । गत साउन ३१ देखि यही भदौ १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ १२ र छात्रतर्फ २५ समूहको सहभागिता रहेको क्लब अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।